जनता टाइम्स

१४ कार्तिक २०८१, बुधबार २१:२७

वुमेन्स साफ च्याम्पियनसिप २०२४ : बंगलादेशले गर्यो उपाधिको रक्षा, नेपाल उपबिजेतामै चित्त बुझाउन बाध्य


काठमाडौं, कात्तिक १४ । वुमेन्स साफ च्याम्पियनसिप २०२४ मा बंगलादेशले उपाधि रक्षा गरेको छ । दशरथ रंगशालामा आज भएको प्रतिस्पर्धात्मक खेलमा नेपाललाई २–१ गोलको अन्तरले पराजीत गर्दै बंगलादेशले उपाधी रहक्षा गरेको हो ।

रितुपोर्ना चक्माले गरेको जादुयी गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बंगलादेशले नेपाललाई पराजित गर्दै वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जित्यो । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो ।

हारसँगै नेपालको पहिलोपल्ट उपाधि जित्ने सपना पनि अधूरै रह्यो । बंगलादेशले सन २०२२ को उपाधि दशरथ रंगशालामै जितेको थियो । त्यति बेला पनि बंगलादेशले उपाधिको भिडन्तमा नेपाललाई नै हराएको हो । नेपालले साफ च्याम्पियनसिपको फाइनलमै पराजित भएको यो छैटौं पल्ट हो ।

रितुले नेपाली पोस्टको ठीक बाहिरबाट गरेको उत्कृष्ट प्रहार सुन्दर गोलमा परिणत भएको थियो । पूरा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी रितुले खेल फाइनलमा पनि सोही इतिहास दोहोर्याइन् । पहिलो हाफको गोलरहित बराबरीपछि खेलले गति लिएको थियो । खेलको पहिलो गोल बंगलादेशले निकालेको थियो । नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै ५२ औं मिनेटमा मोनिका चक्माले गोल गरिन ।

जवाफमा नेपालले ५६ औं मिनेटमा बराबरी गोल फर्कायो । प्रिति राईको थ्रू पासमा अमिशाले बंगलादेशी गोलरक्षकलाई कुनै अवसर नदिई गोल गरिन । पहिलो हाफमा बंगलादेशले सुरुमै मौका पाएको थियो । नेपाली डिफेन्डर गीता राना चिप्लिएको स्थितिमा सिर्जना भएको अवसरमा सविता खातुनको पोस्टमा लागेको थियो ।

खेलको दसौं मिनेटमा नेपाल त्यस्तै स्थितिबाट गुज्रियो । सावित्रा भण्डारीको पासलाई नियन्त्रण लिएर अमिशाले गरेको प्रहार पोस्टमा ठोकिएको थियो । नेपालले उत्कृष्ट खेल खेले पनि धेरै अवसर गुमाउँदा इतिहास रच्नबाट बञ्चित हुनुपर्यो ।