जनता टाइम्स

२८ कार्तिक २०८१, बुधबार १८:४४

सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराजसँग ५ घण्टा बयान


काठमाडौं, कात्तिक २८ । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगीबारे बयान लिएको छ । गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) मा बोलाएर घटना विवरणको कागज गराइएको हो ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार गुरुङसँग अनुसन्धान अधिकृतहरुले बुधवार मध्यान्ह १२ बजेदेखि ५ बजेसम्म सोधपुछ गरेका छन । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ ।

ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुनुहुन्छ । उहाँहरूको बिचमा २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको भेटिएको छ । प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनमा पत्नी संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेको बारे सोधपुछ गरेको छ । अनुसन्धान अधिकृतहरूसँग गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको र इज्जत पनि गएको दुखेसो गर्नुभएको छ । ‘मितेरी सहकारीले मेरो घर र इज्जत सबै खाइदियो,’ धनराजले बयानमा भन्नुभएको छ ।

धनराजले मितेरीबाट लिएको ऋण घर बेचेर तिरेको बताउनु भएको छ । पत्नी ज्योती र अर्का आरोपी ज्योति भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन गरेको भेटिएको छ ।