जनता टाइम्स

२८ कार्तिक २०८१, बुधबार २२:०२

नेपालको महिला क्रिकेट टोलीले रच्यो इतिहास, युएईलाई हराउँदै पहिलो पटक विश्वकपमा छनोट


काठमाडौं, कात्तिक २८ । नेपाल आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । एसिया छनोटमा आयोजक युएईलाई हराउँदै नेपालले विश्वकपमा पहिलो पटक स्थान बनाएको हो ।

युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा पूरा गर्दै जीत निकाल्यो । जीत निकाल्न नेपालका लागि सना प्रविनले अविजित ३५ रन र कप्तान पूजा महतोले १८ बलमा २१ रन बनाइन । त्यस्तै साबित्री धामीले १२ रन बनाउँदा सोनी पाख्रिनले अविजित १३ रन बनाइन ।

यसअघि टस जितेर निर्धारित २० ओभरमा युएईले ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईलाई ८३ रनमै रोक्न कृष्मा गुरुङले ४ विकेट लिइन । त्यस्तै रिया शर्मा र सीमा केसीले दुई–दुई र रचना कुमारी चौधरीले एक विकेट लिएका थिए ।

युएईका लागि समैराले सर्वाधिक ३१ रन बनाइन भने रिनिथाले २०, लभन्याले १० र इन्धुजाले १० रन बनाएकी थिइन ।