नेपाली कांग्रेसले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वागतमा डडेलधुरा बसपार्कमा फुलमालासहित आउन नेतादेखि समर्थकसम्मलाई उर्दी जारी गरेको छ ।
डडेलधुरा, कात्तिक २९ । सत्तारुढ नेपाली कांग्रेसले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा गृहजिल्ला आउँदा फूलमालासहित बसपार्कमै स्वागत गर्न उर्दी जारी गरेको छ ।
डडेलधुरा कांग्रेसका सभापति भीमबहादुर साउँदले बुधवार सूचना नै जारी गरी मन्त्री आरजुको स्वागत गर्न फुलमालासहित बसपार्क आउन उर्दी दिनुभएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएकी परराष्ट्रमन्त्री देउवा शुक्रबार अपराह्न डडेल्धुरा आइपुग्ने कार्यक्रम रहेको छ ।
सभापतिसाउँदले बुधबार सूचना निकालेर परराष्ट्र मन्त्री राणा आउँदा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थित रहन नेता, कार्यकर्ताहरूलाई सर्कुलर गर्नुभएको छ । परराष्ट्र मन्त्री राणालाई डडेल्धुरा बसपार्कमा भेला भएर स्वागत गर्ने कार्यक्रम रहेको पनि सूचनामा जनाइएको छ ।
सभापति साउदले महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमिति पदाधिकारी र सदस्य, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा र टोल कार्यसमितिलाई परराष्ट्र मन्त्री आउने कार्यक्रममा फूलमालासहित अनिवार्य उपस्थित हुन निर्देशन दिनुभएको छ । यस्तै पार्टीका क्रियाशील सदस्यहरू, उद्योगी र व्यापारीहरू लगायतलाई पनि फूलमालासहित डडेल्धुरा बसपार्कमा उपस्थित हुन सभापति साउँदको सर्कुलर छ ।
सभापति साउँदले महासमिति सदस्यदेखि क्रियाशील सदस्य र उद्योगी व्यापारीलाई पनि परराष्ट्र मन्त्री आउने कार्यक्रममा फूलमालासहित उपस्थित हुन भनेपछि पार्टीकै पदाधिकारी चकित परेका छन ।
प्रतिक्रिया दिनुहोस्