जनता टाइम्स

१ मंसिर २०८१, शनिबार १५:३९

एमाले उम्मेदवार उमा शेर्पाको संकल्प : गौरीशङ्करमै बसेर मतदाताको सेवामा समर्पित हुनेछु


काठमाडौं, मंसिर १ । गौरीशङ्कर गाउँपालिकाको यही मंसिर १६ गते हुने उप निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार उमा शेर्पाले आफू निर्वाचन भएपछि पालिकावासीको सेवाका लागि निरन्तर पालिकामै रहने संकल्प गर्नुभएको छ ।

एमाले गौरीशङ्कर काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा रहेका गौरीशङ्करवासीबीच आयोजना गरेको अगुवा भेलामा बोल्दै उम्मेदवार शेर्पाले यस्तो संकल्प गर्नुभएको हो ।दोलखाको उत्तरी क्षेत्र गौरीशङकरमा निर्वाचित अध्यक्ष अधिकांश समय काठमाडौंमा बसेर ब्यापार ब्यवसाय र ठेक्कापट्टामा लाग्दा पालिकावासीले दुःख पाएको दृष्टान्त पाएको भन्दै शेर्पाले आफू उपाध्यक्षमा निर्वाचित भएपछि पालिकामै रहेर सेवामा जुटने बताउनु भयो ।

‘मैले संकल्प गरेको छु म चुनाव जितेपछि गौरीशङ्कर गाउँपालिकाको कार्यालयमै भेटिने छु । त्यही रहेर बुवा आमा दाजुभाई दिदीबहिनीको सेवा गर्नुछु । काठमाडौंमा बसेर पालिकावासीलाई दुःख दिने छैन,’ शेर्पाले भन्नुभयो, ‘काठमाडौंमा रहनुभएका गौरीशङ्करवासीले मलाई फोन गरेर समस्या भन्नसाथ काम गर्नेछु ।’ उहाँले पालिकाको बेथिती देखेर गौरीशङ्करवासी दिक्क भइसकेको भन्दै सुधारका लागि पनि ठोश योजनासहित अघि बढेको बताउनु भयो । उम्मेदवार शेर्पाले आफ्नो पालिकामा जनताको सेवा गर्ने अवसर दिएकोमा पार्टीलाई पनि धन्यवाद दिनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपालीको सपना बोकेको गौरवशाली पार्टी नेकपा एमालेले विश्वास गरेर मलाई गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदको उमेदवार हुने मौका दिनुभएकोमा आभार प्रकट गर्दछु ।’ शेर्पा राजनीति, समाजसेवा र हुनुहुन्छ भने कम्युटरमा पनि राम्रो ज्ञान रहेको छ कराँते खेलमा अब्बल ठहरिनुभएकी शेर्पा ग्रामीण महिलाले पनि अवसर पाए सफलता हासिल गर्न सकिदो रहेछ भन्ने उदाहरण बन्नुभएको छ ।

‘दुःख र उत्पीडनमा परेका ग्रामीण महिलाहरूले पनि नेतृत्व गर्नसक्ने, सीप र जागरले भरिएको सफल र आटिलो बन्न प्रयास गर्नुपर्छ। त्यसका लागि म सहयोगी हुन सक्छु भन्ने प्रतिबद्धता पनि गर्दछु । गाउँमा उद्दमी बन्न चाहने महिलाका लागि अवसर प्रदान गर्ने छु । गर्भवती, सुत्केरी, अशक्त, जेष्ठ आमाहरूका लागि विशेष ध्यान दिने छु,’ शेर्पाले भन्नुभयो ।

जनताको पीरमार्का हटाएर अनुहारमा खुसी ल्याउन म आफू उम्मेदवार भएको भन्दै उहाँले पालिकावासीको राय सल्लाह, सुझाव र माया, ममताका साथमा सफलताको शिखर चुम्न लम्किरहेको बताउनु भयो ।

‘गौरीशङ्करमा झुल्केको घामको किरणलाई साछी राखेर तामाकोसीको कञ्चन पानीलाई छोएर बाचा गर्छु, म जनताको सेवामा इमानदारीपूर्वक लाग्ने छु । यस पालिकाभित्रको जनताको दुख, कष्ट, अप्ठ्यारो अवस्थाबाट मुक्ति दिलाउन सधै लागि पर्ने छु,’ शेर्पाको अठोट छ, ‘पालिकाभित्र भैरहेका व्यथिति, भ्रष्टाचार, विसंगतिविरूद्ध सधै डटेर जुध्ने छु । उत्कृष्ट ढंगले न्ययिक कार्य सम्पादन गरेर पीडितलाई न्याय दिलाउने र विकासका कामहरू गुणस्तरीय बनाउने मेरो जिम्मेवारी रहनेछ । पालिकाभित्र भएका अथाह स्रोतसाधनबाट जनताको जीवनस्तर उठाउन प्रयोग गर्न दत्तचित्त भै लागिरहने छु ।’

उहाँले थप्नुभएको छ, ‘पालिकाभित्रको कुनै पनि सार्वजनिक सम्पत्तिलाई जनताको पक्षमा अधिकतम उपयोग गर्दै दुरुपयोग हुन नदिन पहरेदारी गर्नेछु । एमालेको नेतृत्वमा २०७४ देखि २०७९ सालसम्म भएका विकासका कामलाई निरन्तरता दिन प्रयास गर्नेछु ।’ यस्तै पालिकाभित्र सुशासन र जनताको सरकारको अनुभुति दिलाउन लडिरहने, नेकपा एमालेको नीति, सिद्धान्त, विचारलाई कार्यान्वयन गर्दै श्रमजीवी, मजदूर, किसान र निमुखा वर्गको हितमा समर्पित हुने बताउनु भयो ।