जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार ०६:४६

राष्ट्रपति भण्डारी जापानमा, विदेशमन्त्रीबाट स्वागत


जापान, कात्तिक ४ राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन आइतवार राति राजधानी टोक्यो आइपुग्नुभएको छ । म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आइतवार राति १० बजे थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै यहाँ आइपुगेको हो ।

राष्ट्रपति भण्डारीलाई हानेदा एयरपोर्टमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली राजदूतावासका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत हुनुहुन्छ । जापानी सम्राट् नोरुहितोको कात्तिक ५ गते मङ्गलबार हुने राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।