जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार ०७:११

महरा यौन दुर्ब्यवहार प्रकरणमा शाहीको चौथो बयान : प्रहरीमाथि नै लगाइन यति गम्भीर आरोप


काठमाडौं, कात्तिक ४ । तात्कालिन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्ब्यवहारको आरोप लगाएकी संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले फेरि अर्काे नयाँ बयान दिएकी छन । उनले मनोवैज्ञानिक र मानसिक दबाबमा आफूले प्रहरीमा उजुरी दिएको खुलासा गरेकी हुन ।

एपीवान टेलिभिजनसँगको कुराकानीमा शाहीले फेरि आफ्नो नयाँ कुरा सार्वजनिक गरेकी छन । ‘असोज १७ गतेको किटानी जाहेरी निवेदन मलाई बाध्य पारेर लेख्न लगाई दर्ता गराइएको हो, असोज १७ गते प्रहरीले तयार पारेको निवेदनको खेस्राको आधारमा मलाई मनोवैज्ञानिक र मानसिक दबाब दिएर तयार पार्न लगाइएको निवेदनका आधारमा मात्रै अनुसन्धान भइरहेको छ,’ सो टेलिभिजनसँगको कुराकानीमा शाहीको भनाई छ ।

उनले बानेश्वर प्रहरी वृत्तमा असोज १५ गते दर्ता गरेको निवेदनमा उल्लेख भएको कुरामात्र सत्य–तथ्य भएको जिकिर पनि गरेकी छन । ‘१५ गतेको निवेदनमा असोज १२ गते घटेको भनिएको घटनाका बारेमा पूर्ण विवरणसहित आफ्नो श्रीमान् चित्रजंग शाहीको रोहबरमा बानेश्वरमा निवेदन दिएकी थिएँ, तर, सो निवेदनको आधारमा प्रहरीले अनुसन्धान गरेन,’ शाहीको भनाई छ । उनले उक्त निवेदनमा महरा असोज १२ गते आफ्नो कोठामा उपस्थित नै नभएको उल्लेख भएको बताएकी छन ।

शाहीले अकस्मात आफ्नो मानसिक अवस्था बिग्रन जाँदा १०० मा फोन गरेको दावी पनि गरेकी छन । ‘असोज १२ गते अकस्मात मेरो मानसिक अवस्था बिग्रन गई विक्षिप्त अवस्थामा प्रहरीको १०० मा फोन गरी प्रहरी बोलाएकी रहेछु । प्रहरी आइसकेपछि उहाँहरु अर्थात प्रहरीले सभामुख महराले हातपात गरेको भनेर तपाईंको फोन आएकाले हामी आएको भन्नुभयो,’ शाहीले भनेकी छन, ‘तर, सोही समयमा खानतलासी गर्दा केही नभेटेपछि प्रहरी फर्किएर जानु भएको रहेछ । प्रहरी गए पश्चात पनि मैले क–कसलाई फोन गरेकी रहेछु र को–कोसँग के–के भने थाहा भएन । पछि होसमा आउँदा विभिन्न मिडियामा मेरो र कृष्णबहादुर महरा सरको नाम जोडी विभिन्न किसिमका लान्छना लगाइएका समाचार प्रसार भइरहेको देखेर म नै अचम्म परेँ ।’ महरामाथि बलात्कार आरोप लगाएपछि शाहीको यो चौथो बयान हो ।

जिल्ला अदालत काठमाडौंले महरालाई थप अनुसन्धान गर्न आइतवार मात्रै प्रहरीलाई पाँच दिनको म्याद दिएको छ । यसअघि अदालतले प्रहरीलाई दिएको तीन दिनको म्याद शुक्रबार सकिएको थियो । अदालतले म्याद थप गरेकै दिन शाहीले चौथो बयान दिँदै प्रहरीमाथि नै आरोप लगाएकी हुन ।