काठमाडौं, मंसीर ३ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा गहिरो शोक र द्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै आज बिदा दिने निर्णय गरेको बताउनु भयो ।
मन्त्रिपरिषद बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि सरकारले गरेको छ ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्