जनता टाइम्स

४ मंसिर २०८१, मंगलवार ०८:५६

प्रधानमन्त्रीको विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताविरुद्धकै षडयन्त्र : एमाले महासचिव


काठमाडौं, मंसिर ४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताउनुभएको छ ।

कुनै पनि समाजका लागि षडयन्त्र र अराजकताले त्यस समाजको भविष्यलाई वरवाद बनाउने विष वृक्ष भएको पोखरेलले प्रष्ट पार्नुभएको छ ।

‘यस प्रकारको षडयन्त्र र अराजकतावाद राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो’, महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

आफूलाई सामाजिक अभियन्ता भन्ने दुर्गा प्रसाईँले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गर्नुभएको थियो ।

प्रसाईँले सो भिडियो सामाजिक सञ्जालमा राखेपछि महासचिव पोखरेलले यो राष्ट्र र जनता विरुद्धको षडयन्त्र भएको उल्लेख गर्नुभएको छ ।

प्रसाईँले म मर्न तयार छु तर यस्ता तस्करसँग झुक्न तयार छैन भन्दै सामाजिक सञ्जालमा भिडियो राख्नु भएको छ ।  यो सुरुवात मात्र भएको भन्दै यस्ता प्रमाणहरू अन्य दलका नेताहरूका पनि आइरहने धम्की पनि प्रसाईँले दिनुभएको छ ।