जनता टाइम्स

४ मंसिर २०८१, मंगलवार २१:०३

अपराधकर्मप्रति कठोर बन्यो सरकार : ३ किलो सुन तस्करी र अपहरणको आरोपमा कांग्रेसकै नेता पक्राउ


काठमाडौं, मंसिर ४ । अपराधकर्म नियन्त्रणका लागि सरकार कठोर रुपमा प्रस्तुत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले अपराधमा संलग्नको अनुहार नहेर्ने बताएपछि नेपाल प्रहरीले धमाधम सत्तरुढ दलका नेतादेखि अपराधमा जोडिएका सवैलाई पक्राउ गर्न थालेको छ ।

यसअघिका प्रधानमन्त्री र गृहमन्त्रीले आफूहरुले पठाएको लिस्टअनुसार पक्राउ गर्न निर्देशन दिने गरेकोमा अहिले भने प्रहरी स्वतन्त्रतापुर्वक अपराधको अनुसन्धान र संलग्नमाथि पक्राउ र छानविनको काम अघि बढाएको हो । यही क्रममा प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी गरेर ल्याएको सुन बाटोमा ‘गायब’ भएपछि कन्टेनर चालकलाई अपहरण गर्ने रसुवा कांग्रेसका जिल्ला नेतालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रसुवा कांग्रेसका जिल्ला कार्यसमितिका कोषाध्यक्ष नुर्पुसिंगी तामाङलाई पक्राउ गरेको हो ।

३८ वर्षीय नुर्पु रसुवाको गोसाईंकुण्ड गाउँपालिका–१ भार्खुवासी हुनुहुन्छ । नुर्पुसहित ४ जना मिलेर कन्टेनर चालक रामकृष्ण वाइबा र उहाँका मामाको छोरा निमा छिरिङ तामाङलाई अपहरण गरेर बुढानकिलण्ठस्थित शैलजा रिसोर्टमा लगेर कुटपिट गरेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । सो घटनामा तामाङ आफै घटनास्थलमा उपस्थित रहेको प्रहरीको भनाई छ ।

नुर्पुसहितका ४ जना कार्तिक गते नै ३० मा पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका–१ थुमन घर भएका बुद्धिबहादुर तामाङ, गोसाईंकुण्ड–६ धुन्चे घर भएका टेम्पा नुर्पु तामाङ र कालिका गाउँपालिका–१ राम्चे घर भएका गोपाल तामाङ हुनुहुन्छ । आरोपीहरू सबैजना नेपाली कांग्रेसमा आबद्ध रहेको भेटिएको छ ।

रसुवा कांग्रेसको जिल्ला समिति सदस्य बुद्धिबहादुर तामाङ यसअघि पनि सुन तस्करीमा जेल परेर छुटेको प्रहरीको भनाई छ । यस्तै पक्राउ परेका ४४ वर्षीय टेम्पा नुर्पु तरुण दल रसुवाको जिल्ला समिति सदस्य र गोपाल तामाङ २०७४ को स्थानीय तह निर्वाचनमा कालिका गाउँपालिका वडा नम्बर–१ बाट वडा अध्यक्षको चुनाव लडेका नेता हुनुहुन्छ । नुर्पुसिंगी सहित चारै जना सुन ल्याउने समूहमा आबद्ध रहेको प्रहरीले बताएको छ ।

गत साउन २४ गते केरुङबाट तस्कर समूहले कन्टेनरको चालक सिटभन्दा माथिको बत्तीमा सुन लुकाएर पठाएका हुन । कन्टेनरमा अंगुर लोड गरिएको थियो । कन्टेनरमा सुन ल्याएको कुरा चालकले उनका मामाका छोरा निमा छिरिङलाई भनेपछि निमा छिरिङले आफूले चिनेको प्रहरीका एक जना असईलाई जानकारी गराएका थिए । प्रहरी प्रधान कार्यालयमा कार्यरत ती असईले सुनबारे राजस्व अनुसन्धान विभागलाई जानकारी दिएका थिए ।

राजस्व अनुसन्धान विभागबाट खटिएका सशस्त्र प्रहरीका डीएसपी नेतृत्वको टोलीले कन्टेनर काठमाडौँमा आइपुगेपछि सर्च गर्दा सुन फेला परेन । त्यसपछि रामकृष्ण र निमा ३१ दिन राजस्व अनुसन्धान विभागको हिरासतमा बसेर छुटेको प्रहरीले बताएको छ । । सो सुनको लुटेराबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।