जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार १२:४८

चिलीमा सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु


सान्टियागो, कात्तिक ४

चिलीमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कानुन व्यवस्थामा चुनौती देखिएसँगै सरकारले २४ घण्टे निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरेको छ । राजधानी सान्टियागोको एक सुपरमार्केटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु भएपछि निषेधाज्ञा लगाइएको छ ।

मेट्रोको भाडा वृद्धिको विरोधबाट शुरु भएको प्रदर्शन हाल चिलीमा बढेको असमानता र दैनिक जीवन कष्टकर हुँदै गएको विरोधमा केन्द्रित भएको छ । प्रहरीले हालसम्म लुटपाट र अरु गम्भीर अपराधको आरोपमा ७०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

माध्यमिक तहमा पढ्ने विद्यार्थीहरुले राष्ट्रपति सेबास्टियन पिनेरालाई सार्वजनिक यातायातको भाडा वृद्धि फिर्ता लिन आग्रह गर्दै विरोध प्रदर्शन शुरु गरेका थिए । तर यो प्रदर्शनले पछिल्ला दिनमा उग्ररुप लिएको छ, र प्रदर्शन देशव्यापी हुन थालेको छ । राजधानी सान्टीयागोमा कम्तीमा पाँच वटा भूमिगत स्टेशन र बसहरुमा आगजनी गरिएको छ भने उग्र प्रदर्शनकारीले सुपरमार्केट र फार्मेसी पसलमा लुटपाट गरेका छन् ।

धेरैवटा समूहले सोमबारका लागि राष्ट्रव्यापी आमहडताल आह्वान गरेका छन् । राष्ट्रपति पिनेराले शनिबार सवारी साधनको भाडा वृद्धि फिर्ता लिने घोषणा गरेपनि प्रदर्शनहरु रोकिएका छैनन् । सन् १९९० मा चिलीमा लोकतन्त्रको पुनर्वहाली भएपश्चात् सरकारको विरोधमा यो सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भएको हो ।