जनता टाइम्स

५ मंसिर २०८१, बुधबार २१:५८

बीआरआईबारे फरक मत भए पनि प्रधानमन्त्रीको चीन भ्रमणअघि नै समझदारीमा पुगिन्छ : एमाले


काठमाडौं, मंसीर ५ । नेकपा एमालेले बीआरआईबारे सत्ता साझेदार दल नेपाली कांग्रेससँग फरक मत भए पनि प्रधानमन्त्रीको चीन भ्रमणअघि समझदारीमा पुग्ने प्रष्ट पारेको छ ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बीआरआईबारे कांग्रेससँग फरक मत रहेको तर सहमझदारीमा पुगिने पार्टी नीति प्रष्ट पार्नुभएको हो । पछिल्ला समसामयिक घटनाक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बीआरआईबारे कांग्रेस र एमालेको बुझाइमा एकरुपता नरहेको र समझदारी बन्ने क्रममा रहेको जानकारी दिनुभयो ।

बीआरआई परियोजनको विषयमा डिफरेन्सेस भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि एउटा समझदारीमा पुग्ने उहाँको भनाई छ । उपमहासचिव ज्ञवालीले पहिले हस्ताक्षर गरेको बिषय अहिले गिजोल्ने प्रयास हुन नहुने धारणा पनि राख्नुभयो ।

‘यो ऋणलाई हेरौं, धेरै महँगो रहेछ भने चीनसँग मात्रै होइन, अमेरिका र भारतसँग पनि लिनुहुन्न । सस्तो हुन्छ भने जहाँबाट लिँदा पनि हुन्छ । अहिले छलफल गरिरहेका छौं । अलिअलि डिफरेन्सेस भए पनि प्रधानमन्त्रीको चीन भ्रमणअघि समझदारीमा पुग्छौं,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ।