जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार १९:३९

प्रधानमन्त्री ओलीको दृढ अठोट : कुरा काटेर मात्रै बस्नेहरुको जमातलाई अब काम गर्ने बनाउनु पर्छ


काठमाडौं, कात्तिक ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा काम भन्दा कुरा काट्नेहरुको जमात बढी रहेको निश्कर्ष सुनाउनु भएको छ । सिस्नेरी–नागढुंगा सुरुङमार्गको आज चन्द्रागिरि नगरपालिकास्थित टोटेपाखामा शिलान्यास गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम भन्दा कुरा काटने जमात धेरै रहेकोले तिनीहरुलाई सुधार्नु पर्ने बताउनु भयो ।

सरकारले काम गरिरहे पनि एउटा जमात कुरा काट्न लागिरहेको उहाँको भनाई थियो । ‘हामीमाझ काम नगर्ने अनि कुरा काटेर मात्रै बस्नेहरुको जमात छ, उनीहरुलाई कुरा काट्ने होइन, काम गर्ने बनाउनुछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले विस्तारका क्रममा अलपत्र रहेको कलंकी–नागढुंगा सडक खण्ड अब बनिसक्ने भन्दै गीत गाउने बहाना सकिने उदघोष पनि गर्नुभयो । ‘धेरै वर्षदेखि गीत थियो, कलंकी–थानकोट–नागढुंगा सडक बनेन भनेर, अब यो सडक पनि तयार भएको छ, गीत गाउनेहरुको बहाना यहाँ पनि सकियो,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

उहाँले यस वर्ष १६ सय किलोमिटर सडक बनिसकेको जानकारी दिँदै अब सरकारले चार लेन र ६ लेनका मात्रै सडक बनाउने घोषणा गर्नुभयो । अब नागढुंगाबाट सुरुङ खोलेर पाँच मिनेटमै चित्लाङ पुर्याउने आफ्नो योजनासमेत सुनाउनु भयो । ‘हामीले यो वर्ष ४३ पुलहरु बनाएका छौं, अढाई तीन सय झोलुङ्गे पुल बने । १२४ वटा तुइनहरु विस्थापित गरिएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘काठमाडौंबाट कलकत्ता ७÷८ सय किलोमिटर पानीजहाज चल्छन, डेढ सय किलोमिटर बाटोमा मात्र गाडीमा सामान ल्याउनुपर्छ ।’ उहाँले काठमाडौंका सडकका पेटीमा अब माग्ने नदेखिने बताउँदै देखिएमा सरकारल हेरचाह गर्ने बताउनु भयो ।

‘अब सडकमा बालबालिका पनि हुँदैनन, पानीजहाजका कुरा गर्दा मान्छेले उडाए, पहिले भोजपुर पुग्न चार घण्टा लाग्थ्यो । अहिले सुनसरीबाट पानीजहाज २० मिनेटमै पुगेर आउँछ । एकछिनमै पुग्छ, एकछिनमै आउँछ,’ प्रधानमन्त्री ओलीको भनाई थियो । नारायणीमा २०० जना अट्ने स्टिमर बनिरहेको र सरकारले देखाएको सपनालाई युवाहरुले विपनामा परिणत गरेको भन्दै प्रधानमन्त्री ओलीले खुसी व्यक्त गर्नुभयो । ‘सकारले पानीको बाटोको कुरा गरेपछि युवाहरु उत्साहित भए ।

कोसी र नारायणीमा साना जहाजहरु चल्न थालेका छन,’ उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले सुरुङमार्गको काम ठकेदारले समयमा सक्नुपर्ने बटमलाइन पनि सुनाउनु भयो । ‘ठेकेदारले समयमा काम सकेर जिम्मा नदिने क्रम हट्नुपर्छ, जापानीहरु समयमा काम गर्छन, यो हामी कसैको निजी सुरुङ होइन, यो सबैको हो। त्यसैले यो तोकिएको समयमै निर्माण पुरा हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।