जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार ०८:०२

ओली–प्रचण्ड भिडाउन चाहनेको पोल खुल्यो


काठमाडौं, कात्तिक ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड भिडाउन नेकपाभित्रैको एउटा समुह सक्रिय बनेको पाइएको छ । पार्टी एकतापछि दुवै अध्यक्षको निकट रहेर आफ्नो स्वार्थ पूरा गरिरहेको समुह नै ओली र प्रचण्डबीच फाटो ल्याउन पुनः लागिपरेको पाइएको हो ।

सो समुहले गत सातादेखि दुई अध्यक्षबीच दुरी बढाउन एकले अर्कालाई गुनासो पोख्ने गरेको भन्दै कान भर्ने काम गरिरहेको स्रोतले बतायो । स्रोतका अनुसार सो समुहले प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच फाटो ल्याउन यो तेस्रो पटक प्रयाश गरेको हो । यसअघि अव पूर्वएमाले र पूर्वमाओवादी आ–आफ्नो बाटो लाग्ने निश्चित भएको भन्दै अध्यक्षद्वयबीच फाटो ल्याउन लागेको थियो । ओली र प्रचण्ड निकट भनिएका ती नेताहरु मिलेर बनाएको षडयन्त्रलाई दुवै अध्यक्षले एउटै मञ्चबाट समान अभिब्यक्ति दिएर चकनाचुर बनाउनु भएको थियो ।

त्यसबेला प्रचण्ड निकट भनिएका केही नेताहरु अभियान नै बनाएर ‘अव ओलीसँग संगै जाने अवस्था रहेन, आफ्नो बाटो लाग्ने निश्कर्षमा प्रचण्ड पुग्नुभयो’ भन्दै दुरी बढाउन लागेका थिए भने ओली निकट भनिएकाहरु पनि ‘अव प्रचण्डसँग मिलेर जाने अवस्था सकियो, आ–आफ्नो बाटो लाग्ने बिन्दुमा पुगियो’ भन्दै मिडियामा समाचार लेखाउने काम भएको थियो । दुवै अध्यक्षले यो जानकारी पाएपछि बामदेव गौतमलाई उपाध्यक्ष र बरिष्ठ नेतामा झलनाथ खनाललाई पदोन्नती गर्ने निर्णयसँगै बिफल भएको थियो । ओली र प्रचण्डको त्यो निर्णयपछि केही समय चुप लागेको त्यही समुह फेरि अहिले भिडाउने योजनाका साथ एक अर्काबिरुद्ध पोल लगाउने र सही सूचना आउन नदिने खेलमा लागेको छ । यो जानकारी प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डसम्म पुगिसकेको छ । स्रोतका अनुसार दुवै अध्यक्षले यस बिषयमा छलफलसमेत गर्नुभएको छ ।

‘प्रधानमन्त्री ओली र प्रचण्डले आफूहरुलाई भिडाउन षडयन्त्र बनाउने र मन्त्री फेरिन्छ भन्दै सञ्चार माध्यममा समाचार बनाउन लगाउने आफू निकटकै ब्यक्तिहरु रहेको र तिनीहरुले कसैको गुरुयोजनामा काम गरेको निश्कर्षमा पुग्नुभएको छ,’ केही दिन अघि दुवै अध्यक्षसँग छुट्टाछुट्टै भेट गरेका एक नेताले जनताटाइम्ससँग भन्नुभयो । उहाँका अनुसार दुरी बढाउन प्रधानमन्त्री ओलीलाई अर्का अध्यक्ष प्रचण्डले भारतीय राजदुतसँग नियमित भेटबार्ता गरिरहेको, बरिष्ठ नेता माधवकुमार नेपाल समुहसँग मिलेर षडयन्त्र बनाएको तथा प्रधानमन्त्री ओलीबिरुद्ध अभियान चलाउन लागेको भन्दै सूचना दिने गरेको छ । यस्तै प्रचण्डलाई प्रधानमन्त्री ओली साइजमा ल्याएर छाडने योजना बनाइ रहेको, प्रचण्ड केही होइन भन्दै आफू निकटसँग भन्ने गरेको भन्दै इमोशनल ब्ल्याकमेलिङ गरिरहेको छ । यो काममा दुवै नेताका निकट भनेर चिनिएकै नेता रहेको ओली र प्रचण्डले चाल पाएको स्रोतको भनाई छ ।

सो समुहले गलत सूचना दिएकै कारण बजारमा अफवाह फैलिएपछि दुवै अध्यक्षले आफूहरुबीच भएको सल्लाहबाहेक अरु कुराको बिश्वाश नगर्ने निश्कर्षमा पुग्नुभएको छ । स्रोतका अनुसार सोही समुहले एडभान्स पचाउन मन्त्रिमण्डल पुनर्गठन हुने, मन्त्रीहरु फेरिने भन्दै अफवाह फैलाइरहेको सूचनासमेत दुवै अध्यक्षकहाँ पुगेको छ । तात्कालिन एमाले र माओवादीबीच एकता प्रक्रिया अघि बढिरहँदा पनि दुवै पार्टीका निकट भनिएकै नेताहरुले समेत आफै ओली–प्रचण्ड बनेर एकता भाँडिने अवस्थामा पुगेको सूचना दिने गरेका थिए । दुवै अध्यक्षका निकट भनिएकाहरु पनि यो धन्दामा लागेको चाल पाएपछि ओली र प्रचण्डले पार्टी एकताको बिषयमा आफूबाहेक कसैलाई पनि शेयर गर्नुभएको थिएन । स्रोतका अनुसार दुवै अध्यक्षले आफू निकट रहेका तीन–तीन जनाको नाम किटान गरी अनुसन्धानमा राख्नुभएको छ ।