जनता टाइम्स

१३ मंसिर २०८१, बिहीबार १९:२६

म्याजिक नम्बर भन्दै जनताले अस्वीकार गरेकाहरूले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ : महासचिव पोखरेल


काठमाडौं, मंसिर १३ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरताका कारण देश बन्न नसकेको बताउनु भएको छ ।

बिहीबार कीर्तिपुरमा आयोजना भएको एमाले चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले चीन र भारतको उदाहरण दिँदै नेपालमा राजनीतिक अस्थिरता बढेकै कारण मुलुक समृद्ध बन्न नसकेको बताउनु भएको हो ।

‘अब नेपालमा धेरै राजनीतिक दल होइन, ३२ सिटले म्याजिक नम्बर भन्दै जनताले अस्वीकार गरेकाहरूले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ’, महासचिव पोखरेलको भनाई छ । उहाँले बलिया शक्तिले देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यताका आधारमा राजनीतिलाई डोर्याउन अग्रसर हुनुपर्ने भन्दै उहाँले देश बनाउन युवाहरू राजनीतिमा आउनुपर्ने पनि बताउनु भयो ।

उहाँले एमाले सरकारमा रहँदा युवाहरूको विदेश पलायन घट्ने गरेको भन्दै अरू पार्टीले सरकारको नेतृत्व गर्दा युवा पलायन बढ्ने गरेको महासचिव पोखरेलले बताउनु भयो ।उहाँले एमाले नेतृत्वको सरकारले छोटो समयमा मुलुकको अर्थतन्त्र सुधारेको भन्दै देशको स्वाधीनता र स्वाभिमानको झन्डा उठाउने एमाले अब विकासको यात्रामा अघि बढ्न चाहेको बताउनु भयो ।

जनताका अधिकारलाई सबल बनाउन सरकारको नेतृत्व गरेको भन्दै पोखरेलले निराशा अन्त्य गरेर आशा जगाउने काम एमालेले मात्र गर्ने बताउनु भयो । उहाँले कीर्तिपुरमा निराशा चिर्नकै लागि एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएकाले मानन्धरलाई निर्वाचित गर्न आग्रह गर्नुभयो ।