काठमाडौं, मंसिर १६ । स्थानीय तहको उपनिर्वाचन आज बिहान ७ बजेदेखि सुरु भएको छ । ४१ पदका लागि हुन लागेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो ।
जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन सुरु भएको हो । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित हुनुभएको हो ।
यस्तै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । बाँकी रिक्त रहेको ४१ पदका लागि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्