मकवानपुर, मंसिर १७ । हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसले जित निकालेको छ । कांग्रेस उम्मेदवार अर्जुत तिवारी बिजयी बनेसँगै नेकपा माओवादी केन्द्रलाई ठूलो धक्का लागेको छ ।
उपमहानगरको १९ वटा वडामध्ये गत २०७९ को स्थानीय तह निर्वाचनमा एउटै १२ नम्बर वडा जितेको माओवादी २ वर्ष पछिको उपनिर्वाचनबाट कुनै पनि वडामा प्रतिनिधिविहीन बन्न पुगेको छ । २०७९ को निर्वाचनमा बिजयी हुनुभएका माओवादीका लिलतबहादुर घलान जिल्ला समन्वय समितिको प्रमुख बन्न गएपछि रिक्त पदमा आइतबार उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनमा माओवादी पराजीत भइ उपमहानगरमै सून्य बनेको छ । सो वडामा घलान बिजयी बन्दा वडाको ४ सदस्य एमालेले जितेको थियो । लगातार २ पटक माओवादीले जितेको १२ नम्बर वडा कांग्रेसका अर्जुन तिवारीले खोस्नुभएको हो । उहाँले २०६३ मत ल्याएर जीत निकाल्दा माओवादीका उम्मेद्वार रविकुमार प्रधानले १५६० मत पाउनु भएको छ । नेकपा एमालेका राजेश नगरकोटी भने १३९८ मत पाएर तेस्रो बन्नुभयो ।
बागमती प्रदेशको राजधानीसमेत रहेको एकमात्र उपमहानगर हेटौंडामा गत २०७९ को निर्वाचनमा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन थियो । हेटौंडा–१२ मा तेस्रो पटकको प्रयासमा कांग्रेसका तिवारी विजयी वडा अध्यक्षमा पनि सबै दल प्रतिस्पर्धी थिए । मेयरमा नेकपा एसकी मिनाकुमारी लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँले जित्नुभएको थियो ।
मेयरमा एमालेका अनन्त पौडेल र राप्रपाका दिपक सिंह प्रतिस्पर्धामा हुनुहुन्थ्यो । सिंह मेयरमा हारेपनि मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा जितेर हाल संसदको पुर्वाधार विकास समिति सभापतिको जिम्मेवारीमा हुनुहुन्छ । गत स्थानीय तह निर्वाचनबाट हेटौंडाको १९ वटा वडामा एमालेले ९ वटा वडा र कार्यपालिकामा ५६ सदस्यसहित बहुमत जोगाउन सक्यो । २०७४ मा मेयर र उपमेयर जितेको एमाले ०७९ मा ११ बाट ९ वटा वडामा झरेको हो ।
कांग्रेसले उपनिर्वाचनमा जित निकालेर एमालेसँग बराबर ९ वडा जित्न सफल भएको छ । नेकपा एसले १ वटा वडा जितेको थियो । निर्वाचन परिणामपछि हेटौंडामा कांग्रेससँग १, २, ३, ६, ७, ८, १२, १६ र १७ नम्बर वडा अध्यक्ष हुनुहुन्छ । यस्तै एमालेसँग ४, ५, ९, १०, ११, १३, १४, १५, १८ र १९ नम्बर वडामा अध्यक्ष हुनुहुन्छ ।
गत निर्वाचनमा मकवानपुरका १० वटा स्थानीय तहमध्ये कांग्रेसको ५ वटा गाउँपालिकामा, एमालेको २ वटा गाउँपालिका, माओवादीको एउटा नगरपालिका र अर्काे गाउँपालिका तथा नेकपा एसको उपमहानगरमा नेतृत्व रहेको छ ।
प्रतिक्रिया दिनुहोस्