जनता टाइम्स

१८ मंसिर २०८१, मंगलवार ११:१२

भारतीय आपराधिक समुहको नाममा धम्की दिने युवा र दुर्गा प्रसाईंबीच सयौं फोन सम्वाद, योजनावद्ध रुपमै अभियान चलाएको खुलासा


काठमाडौं, मंसिर १८ । मेडिकल ब्यवसायी दुर्ग प्रसाईंकै निर्देशनमा भारतीय आपराधिक समुह लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएर लखेटने अभियान चलाइएको तथ्य खुलेको छ ।

ब्यापारी धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति र मेडिकल व्यवसायी प्रसाईंबीच सयौं पटक कनेक्सन रहेको र प्रसाईंले पैसा दिएर धम्क्याउने अभियान चलाएको तथ्य खुलेको हो । प्रहरीमा अभियुक्तले दिएको बयानअनुसार प्रसाईंले पचासौं लाख दिने कबोल गरेर काम लगाएको तर ५ लाख मात्रै दिएको बयान दिएका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाँललाई पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

ती युवामाथि अनुसन्धान गर्दा प्रसाईंबीचको कनेक्सन खुलेको हो । सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार प्रसाईं र फुयाँलबीच पटक–पटक फोन संवाद हुने गरेको खुलेको छ । व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै उनीहरूबीच एक सय भन्दाबढी पटक फोन सम्पर्क भएको तथ्य भेटिएको सीआईबी स्रोतले जानकारी दियो । सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले पनि उनीहरूबीच फोन सम्पर्क भएको प्रमाणहरू फेला परेको स्वीकार गर्नुभएको छ ।

यसअघि सीआईबीले फुयाँललाई सार्वजनिक गर्दा पनि प्रसाईंको निर्देशनमा काम गरेको बताएको थियो । ‘भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईंको निर्देशनमा गरेको देखिन्छ,’ सीआईबीको भनाई थियो । उनले नेपालका विभिन्न जिल्लाहरूबाट घिउ लगेर भारतमा बेच्ने गरेको बयानसमेत प्रहरी समक्ष दिएका छन । भारतको पानीट्यांकी भन्ने ठाउँमा आफ्नो पसल समेत रहेको उनको भनाइ छ ।

फुयाँलले विश्नोईको नाम लिएर विवादास्पद मेडिकल व्यवसायी प्रसाईंसँग माफी माग्न भनेको समेत खुलेको छ । प्रसाईंसँग माफी नमागे ज्यान समेत जान सक्ने भन्दै उनले धम्की दिएका थिए । यहीबीचमा उनी र प्रसाईंबीच १०० बढी कल आदानप्रदान भएको भेटिएपछि प्रसाईंकै निर्देशनमा उनले काम गरेको बताएका छन । केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो । प्रसाईंलाई सीआईबीले नै मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ । उनकै निर्देशनमा धम्की दिएको खुलेपछि साइबर ब्युरोको काम सकिएपछि सीआईबी लगेर प्रसाईंमाथि अनुसन्धान अघि बढाउने तयारी सीआईबीको छ ।

यता फुयाँलले धम्की दिन नाम लिएका विश्नोई भने अहिले भारतको तिहाड जेलमा छन । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटक–पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।

प्रसाईंको निर्देशनमा ब्यापारी धम्क्याउने हरिचन्द्र फुयाँलको नामबाट चिनिएका यी युवक भारतमा भने नवीन प्रधानबाट चिनिन्थे । भारतको आसाम र पानीट्यांकीमा बसोबास गरेका ती युवकले नवीन प्रधानको नामबाट भारतीय आधार कार्ड समेत बनाएको खुलेको छ । सीआईबीले उनीबाट नवीन प्रधान नाममा जारी भएको आधारकार्ड समेत बरामद गरको छ । यही नवीन प्रधानकै नामबाट भारतीय सीमकार्ड लिएर उनले व्यवसायीहरूलाई धम्क्याउने गरेको खुलेको छ । त्यसकै लागि उनले नाम समेत परिर्वतन गरेर आधार कार्ड लिएको हुनसक्ने सीआईबीको दाबी छ ।

चेक बाउन्सका फरार अभियुक्त

फुयाँलविरुद्ध यसअघि पनि मुद्दा चलेको भेटिएको छ । उनी पक्राउ परेसँगै सीआईबीले क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गरेको थियो । सो क्रममा उनीविरुद्ध दुई वटा कसुरमा मुद्दा चलेको भेटिएको छ । सुनसरी प्रहरीले उनीविरुद्ध चेक बाउन्सको मुद्दा चलाएको थियो । उक्त केसमा उनी १ लाख ४० हजार धरौटीमा छुटेका थिए । उनी अर्को केसमा भने फरार अभियुक्त रहेको खुलेको छ ।