जनता टाइम्स

१९ मंसिर २०८१, बुधबार २१:२४

चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन : प्रधानमन्त्री ओली


बेइजिङ (चीन) मंसिर १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताउनु भएको छ ।

चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदुतावाले आज बेइजिङमा आयोजना गरेको रिसेप्सनमा यस्तो जानकारी दिनुभएको हो । उहाँले भ्रमणको क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीन जस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धि गरी समृद्धिको यात्रामा अगाडि बढिरहेको सन्दर्भमा सन् २०२५ मा धेरै ठुलो संख्यामा चीनका पर्यटन नेपाल ल्याउने गरी तयारी भएको जानकारी पनि दिनुभयो ।

उहाँले चीनका व्यावसायी उद्यमीको छलफलबाट आफू उत्साहित भएको जनाउनुभयो । प्रधानमन्त्री ओलीले नेपालमा प्रमुख दुई दलको सहकार्यमा बनेको वर्तमान सरकारले नेपाललाई आधुनिक र समृद्ध बनाउन हरसम्भव प्रयास पनि उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई उचाइमा लान बल पुगेको बताउनु भयो । चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले दुई देशको पारस्परिक विश्वास र समझदारी वृद्धि गर्न भ्रमण सफल रहेकोे बताउनुभयो ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआइ) सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको थियो ।