काठमाडौँ, मंसिर २० । युवा स्पिनर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको हो।
कुल १ सय ६८ रनको लक्ष्य लिएर आएको गुर्खाज १५.५ ओभरमा ९४ रनमा अलआउट भयो । यूएईमा एसीसी यू–१९ एसिया कप खेलेर बुधबारमात्र काठमाडौं आइपुगेका देब्रेहाते स्पिनर साउदले ३.५ ओभरमा १९ रन खर्चेर ५ विकेट लिएका हुन् ।
उनले आफ्नो पछिल्लो ४ विकेट ११ बलको अन्तरमा लिएका थिए । अविनाश बोहराले ३ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर २ तथा ब्रान्डन म्याकमुलेन र सैफ जायेबले १–१ विकेट लिए । गुर्खाजबाट स्टेफन इस्किनाजीले ३७ रन बनाए ।
उनले ३५ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । सुमित महर्जन १४ तथा भीम सार्की र जेहरार्ड इरसमसले समान १० रन बनाए । माइकल लेभिट ५, शंकर राना ३, रशिद खान २, प्रतिक श्रेष्ठ ८ र कप्तान करण केसी रन बनाई आउट भए ।
यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६७ रन बनाएको थियो । मध्यक्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा ४३ रन बनाउँदै सुदूरपश्चिमलाई राम्रो स्कोरमा उभ्याएका थिए ।
उनले ३ चौका र २ छक्का प्रहार गरे । स्कटिस खेलाडी म्याकमुलेनको अर्धशतक बनाई बसाएको जगमा दीपेन्द्रले आक्रामक इनिङ्स खेलेका थिए । म्याकमुलेनले ३६ बल खेली ३ चौका र ४ छक्कासहित ५३ रन बनाए ।
यस्तै ओपनर सैफ जैब ९ बलमा १ चौकासहित ११ रन बनाउँदै आउट भए भने अर्का ओपनर विनोद भण्डारीले ३५ रन बनाए । उनले २८ बल खेली समान २ चौका र छक्का प्रहार गरे । यस्तै रोहन मुस्ताफा ४, आरिफ शेख ३ रन बनाई आउट भए ।
गुर्खाजबाट रशिदले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शाहव आलम, इरसमस र करणले १–१ विकेट लिन सफल भए।
प्रतिक्रिया दिनुहोस्