जनता टाइम्स

२१ मंसिर २०८१, शुक्रबार २२:३४

पत्रकार महासंघको ५२ सदस्यीय केन्द्रीय समितिका लागि १३३ जनाको उम्मेदवारी, अध्यक्षमा निर्मला शर्मासहित ५ जनाको मनोनयन


काठमाडौं, मंसिर २१। यही मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १३३ जनाको उम्मेदवारी परेको छ ।

महासंघको निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसिमा तोकिएकोमा उक्त समयसिमा भित्र ४७ पदका लागि १३३ जनाको उम्मेदवारी दर्ता भएको हो ।

सूची अनुसार अध्यक्षका लागि निर्मला शर्मा, कमल गिरी, देवीप्रसाद सापकोटा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ । शर्माले प्रेस चौतारी र नेपाल प्रेस युनियनको साझा उम्मेदवारको रुपमा अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । यस्तै बिष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

यस्तै बरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, रोशन पुरी, गोविन्दप्रसाद चौलागाई, दामोदरप्रसाद दवाडीसहित ४ जनाको उम्मेदवारी परेको छ । आचार्य निर्मला शर्मा नेतृत्वको प्यानलका उम्मेदवार बन्नुभएको हो भने पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ।

यस्तै उपाध्यक्ष महिलामा नितु पण्डित र गंगा पौडेल बरालको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् भने पण्डित चौतारी नेतृत्व प्यानलका उम्मेदवारी हुन ।

यस्तै महासचिवमा रामप्रसाद दाहाल, जन्मदेव जैशी, प्रकाश थापा, लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । यस्तै सचिव खुला रमेश खतिवडा, जनजाती सचिव सबिन प्रियाशन र कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीलगायतले उम्मेदवारी दिनुभएको छ ।