जनता टाइम्स

२२ मंसिर २०८१, शनिबार ११:४८

रास्वपाले सडकबाटै रविलाई दिएको निर्दोषिताको फैसला स्वीकार्य हुन्न : प्रदीप ज्ञवाली


काठमाडौं, मंसिर २२ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीको बचत अपचलनमा जोडिएका जोसुकै अनुसन्धानको दायरामा आउने प्रष्ट पार्नुभएको छ ।

म्याग्दीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो । उहाले सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न शक्तिशाली नियमनकारी निकायको गठन गरिएको जानकारी पनि दिनुभयो ।

उपमहासचिव ज्ञवालीले बचतको सुरक्षाका लागि कर्जा सुरक्षण कोष बनाउने तयारी गरिरहेको जानकारीसमेत दिनुभयो।

‘सहकारी संस्थामा विकृति र बेतिथि मौलाएको महसुस गरेर नियमनकारी निकाय बनाउने तयारीसँगै र जोखिममा परेकाको बचतलाई फिर्ता गराउने काममा सरकारले प्राथमिकता दिएको छ। सहकारीको बचत अपचलनमा जोडिएका जोसुकै पनि अनुसन्धानको दायरामा आउँछन,’ एमाले उपमहासचिव ज्ञवालीले भन्नुभयो ।

उहाले रास्वपाका नेता कार्यकर्ताले सभापति रवि लामिछाने निर्दोष छन् भनेर सडकबाट गरेको फैसला स्वीकार्य नहुने बताउनु भयो।

‘रास्वपाले आफ्ना सभापतिलाई अनुसन्धानका लागि हिरासतमा राखेको बिषयलाई लिएर रास्वपाका सांसदहरु पनि सडकमा उत्रिनुभएको छ। कानून हातमा लिने प्रयास गरिराख्नुभएको छ। र, सडकबाट रवि लामिछाने निर्दोष हुनुहुन्छ भनेर फैसला गर्दै हुनुहुन्छ। यो गलत हो। कानून हातमा लिएर सडकबाट फैसला गर्ने कुरा स्वीकार्य हुँदैन,’ उहाले भन्नुभयो।

एमाले उपमहासचिव ज्ञवालीले अगाडि भन्नुभयो, ‘यस्तै खालका कसुरमा सत्तापक्षका साथीहरु पनि हिरासतमा हुनुहुन्छ। एमाले र कांग्रेसले जुलुस निकालेको छैन। हिजो फरक अभियोगमा बालकृष्ण खाणा र टोपबहादुर रायमाझी पक्राउ पर्दा हामीले कानून हातमा लिने काम गरेनौं।’