जनता टाइम्स

२५ मंसिर २०८१, मंगलवार ०९:३२

गढीमाई मेलाबाट फर्किएको स्कार्पियो रुखमा ठोक्किएर मध्यराती दुर्घटनाग्रस्त : ८ जनाको मृत्यू, ४ जना घाइते


रौतहट, मंसिर २५ । रौतहटको चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक भएको स्कार्पियो दुर्घटनामा आठ जनाको मृत्यू भएको छ ।

गढीमाई मेलाबाट सिरहाको अर्नमा फर्किन लागेको बा १६ च ३१६२ नम्बरको गाडी राति १ः१५ बजे दुर्घटना भएको थियो । गाडीमा सवार ८ जनाको मृत्यु भएको छ भने बालबालिकासहित ४ जना घाइते छन।

मृतक र घाइते सबै सिरहाको अर्नमा गाउँपालिका ३ का हुन । मृतकमध्ये गाडी चालक ४५ वर्षीय श्रीप्रसाद यादव र यात्रु ६० वर्षीया फुलमन्ति राम रहेकी छन् । अन्य ६ जनाको आफन्त आएपछि पहिचान खुल्ने प्रहरीले जनाएको छ ।

मृतकको शव अहिले चन्द्रनिगाहपुरकै सिभिल हस्पिटलमा राखिएको र घाइतेको उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । रौतहट प्रहरीले गाडी रुखमा ठोक्किएको र घटनास्थलको अवस्था हेर्दा चालक निदाएपछि गाडी अनियन्त्रित भएर दुर्घटना भएको देखिएको छ ।