झापा, मंसिर २५ । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका शिवाकोटीलाई मंगलवार अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिनुभयो । यो अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्नेछ । त्यसपछि अनुसन्धानका लागि थप समय हिरासतमा राख्नलाई फेरि समय माग्नेछ ।
शिवाकोटीमाथिको आरोप गम्भीर विषय भएकाले ४ दिनमा अनुसन्धान सकिने विषय नभएको भन्दै प्रहरीले फेरि म्याद माग्ने बताएको छ । इलाका प्रहरी कार्यालय, अनारमनीले शिवाकोटीलाई सोमबार अपराह्न पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार पीडित बालिकाको बुबा छैनन । आमा भारतको आसाममा बस्छिन । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई शिवाकोटीले घरेलु कामदार राखेका थिए ।तर, त्यसको बहानामा शिवाकोटीले जबरजस्ती करणी गरेको आरोप छ ।
बालिकाले सुरुमा इलाका प्रहरी कार्यालय, काँकरभिट्टास्थित महिला सेलका अधिकारीहरुलाई घटनाबारे सुनाएकी थिइन । भारत जान लागेका बेला उद्दार गरिएकी ती बालिकाले जबरजस्ती करणीबारे बताएपछि काँकरभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय, अनारमनीमा पठाइदिएको हो ।
अनारमनीमा पनि उनले त्यही अनुसारको बयान दिएपछि शिवाकोटीलाई पक्राउ गरिएको थियो । शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्