जनता टाइम्स

१ पुष २०८१, सोमबार १७:३६

एमाले केन्द्रीय कार्यालय बन्नै नदिने षडयन्त्र बिफल, जग्गादान कानूनसम्मत रहेको सर्वाेच्च अदालतको ठहर


काठमाडौं, पुस १ । नेकपा एमालेको केन्द्रीय कार्यालय भवन रोक्ने षडयन्त्र बिफल भएको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले दान गर्नुभएको जग्गामा भवन शिलान्यास भएपछि गरिएको रोक्ने प्रयाशलाई अदालतले तुहाइ दिएको हो ।

सर्वोच्च अदालतले भाटभटेनीका सञ्चालक गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई कानूनसम्मत ठहर गरेको छ । सर्वोच्च अदालतको संयुक्त इजलासले जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सोमवार खारेज गरेको छ ।

न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले केहीबेरअघि रिट निवेदन खारेज गरेको विवरण सर्वोच्च अदालतले वेबसाइटमा राखेको छ । वेबसाइटमा मुद्दाको फैसला भइसकेको अनि रिट निवेदन खारेज भइसकेको भनी विवरण अद्यावधिक भइसकेको छ ।

गत दशैंको फुलपातीको दिन भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले एमाले केन्द्रीय कार्यालयका लागि जग्गा दान दिने घोषणा गर्दै अर्को वर्षभित्र भवनसमेत बनाइदिने घोषणा गर्नुभएको थियो । सर्वोच्चले जग्गा दान कानुनसम्मत रहेको फैसला गरेपछि एमालेलाई कानूनी रुपमा जग्गा ग्रहण गर्न र भवन बनाउने बाटो खुला भएको छ ।