जनता टाइम्स

१ पुष २०८१, सोमबार १९:५४

सुरक्षण मुद्रणको कार्यकारी निर्देशक नियुक्तिदेखि सरुवा बढुवासम्मका यी हुन मन्त्रिपरिषदका २० निर्णय


काठमाडौं, पुस १ । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गरेको छ । यही मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

मन्त्री गुरुङले अब केन्द्रलाई व्यवस्थित रूपमा परिचालन गर्न, त्यहाँ भएका समस्या समाधान गर्न, हुलाक टिकट, लालपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क, स्मार्टकार्ड, राहदानी र बैंक नोट तथा सिक्का छाप्ने काम अघि बढाइने जानकारी वपन दिनुभयो । यी कार्डहरु छाप्न अन्त जान नपाइने, छाप्नै परे सरकारको स्वामित्व भएका निकायलाई छाप्न दिने र त्यो पनि सम्भव नभए सञ्चार मन्त्रालयको अनुमतिमा मात्र विदेशमा छाप्न सकिने निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो । यस वर्षदेखि नेपालमा आफ्नै साधनद्वारा हुलाक टिकट र लालपूर्जा काम छाप्ने कामको सुरुआत भएको पनि उहाँले बताउनु भयो ।

यस्तै मन्त्रिपरिषद बैठकले निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजना अन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । यसैगरी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शहरी नीति, २०८१ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

यस्तै एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि १ सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री गुरुङका अनुसार बैठकले थाइल्याण्डको बैंककमा आयोजना हुने एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तीय सहयोगसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा सहभागिताका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजना कार्यक्रमका लागि आर्थिक वर्ष २०८१–८२ मा सूचना प्रविधि अधिकृत एक अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो) का लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान एवं जापान फण्ड फर प्रसपोरस एण्ड रेजिलेन्ट एसिया एण्ड द प्यासिफिकबाट प्राप्त हुने ३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

यसैगरी सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर (करिब ११ अर्ब ५५ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको छ । बैठकले अन्तर्राष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियाका ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यस्तै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा. राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ भने विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) (पहिलो संशोधन) आदेश, सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति र औद्योगिक तथा लगानी प्रवर्द्धन कोष सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

यस्तै नेपाल न्याय सेवा, न्याय समूहका ७ जना राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरुलाई सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।