जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार १३:०३

अमेरिकाबाट पक्राउ गरी नेपाल ल्याइयो १९ बर्षअघि सामुहिक बलात्कारपछि हत्या गर्ने यी अपराधी


काठमाडौं, कात्तिक ६ । उन्नाइस वर्षअघि एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका अभियुक्तलाई अमेरिकामा पक्राउ गरी नेपाल ल्याइएको छ । झापाको चन्द्रगढी–३ निवासी लिलाराज गौतमलाई अमेरिकामा पक्राउ गरी नेपाल ल्याइएको हो ।

गौतमलाई नेपाल प्रहरीले इन्टरपोल वासिङ्टन शाखाको सहयोगमा पक्राउ गरी नेपाल ल्याउन सफल भएको हो । गौतमविरुद्ध प्रहरीले २०७४ मंसिर १२ गते रेड कर्नर नोटिस जारी गरेको थियो । इन्टरपोल वासिङ्टनसँग भएको समन्वयका क्रममा उनी सन् २०१८ जनवरी २ मा अमेरिकामा रहेको जानकारी आएपछि बेफ्रुअरी १३ मा पक्राउ गरेर अमेरिकाकै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको हिरासतमा राखिएको थियो । अमेरिकाको अध्यागमन कानुनसमेत उलंघन गरेका गौतमलाई त्यहाँको आवश्यक कानुनी कारबाहीपछि आज अमेरिकाको मियामीबाट टर्किस् एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो ।

गौतमलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) मा बुझाइएको प्रहरी प्धान कार्यालय इन्टरपोल शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीका अनुसार २०५७ असोज २९ गते राती लिलाराजसहित मनोज खड्का र सिताराम बस्नेतले झापा चन्द्रगढी–३ की सन्ध्या राजवंशीलाई बलात्कारपछि हत्या गरेका थिए । बलात्कारपछि हत्या गरिएकी सन्ध्याको शव चालआली जंगलको रुखमा फेला परेको थियो । घटनाको भोलिपल्ट मृतकका बुबा राजकुमार राजवंशीले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएकोमा प्रतिवादी गौतमलाई जिल्ला अदालत झापाले २०५८ कात्तिक २१ गते सफाइ दिएको थियो ।

तर फैसला उपर जिल्ला सरकारी वकिलको कार्यालयले पुनरावेदन अदालत इलाममा पुनरावेदन दियो । पुनरावेदनले पनि २०५८ चैत २८ गते झापा अदालतकै फैसला सदर गरिदियो । त्यसपछि मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन दिइएकोमा लिलाराजलाई सर्वोच्चले १९ वर्ष २ महिना जेल सजाय हुने फैसला गरेको थियो । सर्वाेच्च अदालतले गौतम २०५७ कात्तिक १ देखि ०५८ साउन ३२ गतेसम्म हिरासतमा बसेको अवधि कट्टागरी बाँकी कैद असुल गर्न आदेश दिएको थियो । अदालतको फैसला पछि पनि लुकीछिपी अमेरिका पुगेका उनलाई पक्राउ गरी नेपाल ल्याइएको हो ।