जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार ०८:२४

यौन दुर्ब्यवहारका आरोपी महरालाई झडका, अदालतले दियो डिएनए परीक्षणका लागि रगत दिन आदेश


काठमाडौं, कात्तिक ८ । संसद सचिवालयमा कार्यरत रोशनी शाहीमाथि यौन दुर्ब्यवहारको आरोप लागेपछि प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै डिएनए परीक्षणका लागि रगत दिन महरालाई आदेश दिएको हो।

प्रहरी अनुसन्धान अधिकृतले डिएनए परीक्षण नगरी आरोपबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेशको माग गरेका थिए। प्रहरीको मागबमोजिम डिएनएका लागि नमुना रगत उपलब्ध गराउन महराका नाममा आदेश भएको जिल्ला अदालतका प्रवक्ता आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । महराले डिएनए परीक्षणका लागि रगत दिन अस्वीकार गर्दै आएका थिए । महराको मुद्दामा तेस्रोपटकसम्म गरी अनुसन्धानका लागि अदालतले २५ दिन म्याद दिएको छ। कानुनअनुसार अनुसन्धानमा बढीमा २५ दिनसम्म म्याद थप्न पाउने व्यस्था छ। प्रहरीलाई तिहार बिदा सकिएलगत्तै अभियोग पत्र दायर गर्नुपर्ने कानुनी बाध्यता छ।

अनुसन्धानका लागि दोस्रोपटक थपेको म्याद सकिएपछि बिहीबार ७ दिन समय थपिएको हो। महरामाथि संसद् सचिवालयमा कार्यरत शाहीले गत असोज १२ गते आफूमाथि बलात्कार र कुटपीट गरेको आरोप लगाएकी थिइन्। महराले सरकारी वकिल र प्रहरीसमक्ष बयान दिँदै आफू रोशनीको कोठामा गएको स्विकार गरेपनि रोशनीलाई आफूले त्यस समयमा नभेटेको बताएका छन्। कर्मचारी समायोजनको कुरामा रोशनी तनावमा रहेकाले भेट्न गएको र त्यहाँ गएर फोन गर्दा उनी नभेटिएकाले फिर्ता भएको महराले बयान दिएका छन ।