जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार १३:३९

चिनियाँ उपराष्ट्रपतिको जापान भ्रमण सम्पन्न


सापोरो, कात्तिक ८

चिनियाँ उपराष्ट्रपति वाङ क्विशानले शुक्रबार जापानको पाँच दिने भ्रमण पूरा गर्नुभएको छ । भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई थप प्रगढा बनाउन र नयाँ युगमा प्रवेश गर्नका लागि भ्रमणको निरन्तरता र सम्बन्ध विस्तारमा जोड दिइएको दुबै देशका अधिकारीहरुले बताएका छन् ।

उपराष्ट्रपति वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष दूतको रुपमा जापानी सम्राट नारूहितोको राजगद्दी आरोहण समारोहमा सहभागी हुन जापान जानुभएको थियो । भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको भेटमा उपराष्ट्रपति वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङको तर्फबाट हार्दिक अभिवादन प्रकट गर्नुभएको थियो ।

सो भेटवार्ताको क्रममा हालै जापानमा आएको भयावह विनाशकारी आँधी ‘हगीबिस’ बाट ज्यान गुमाएका र घाइतेप्रति चिनियाँ सरकार र चिनियाँ नागरिकको तर्फबाट सहानुभूति प्रकट गर्नुभएको थियो । सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो यसै वर्ष मे महिनामा जापानको सम्राट बन्नुभएको थियो । विभिन्न परम्परागत विधि सम्पन्न भएपछि मात्रै नारूहितोको औपचारिक राजगद्दी आरोहण भएको हो ।