जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार १४:०५

अमेरिकी उपराष्ट्रपतिको भनाइप्रति चीनको आपत्ति


बेइजिङ, कात्तिक ९

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गर्नुभएको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ ।  अमेरिकी उपराष्ट्रपति पेन्सले व्यक्त गर्नुभएको विचार चीनको वास्तविकता र चिनियाँ समाजको वास्तविक प्रणालीको बारेमा विश्व समुदायमा भ्रम फैलाउन खोजिएको भनी चीनले टिप्पणी गरेको हो ।

अमेरिकी उपराष्ट्रपति पेन्सले बिहीबार दिएको अभिव्यक्ति चीनको मानवअधिकारको वास्तविक अवस्था, यहाँको धार्मिक आस्था तथा अन्य सामाजिक प्रणालीकै विरुद्धमा रहेको चीनले प्रतिक्रिया दिएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिङले शुक्रबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, ‘अमेरिकी उपराष्ट्रपति पेन्सले दिएको विज्ञप्ति हाम्रो आन्तरिक मामिलासम्बन्धी कानुन तथा परराष्ट्र नीतिको विरुद्धमा छ ।’ उक्त भनाई राजनीतिक रुपमा पूर्णतः बायस भएको उहाँले बताउनुभयो ।

चीनले आफ्नो सार्वभौमिकता, यहाँको सुरक्षा प्रणाली तथा चीनको आफ्नो आन्तरिक मामिलाका विषयमा आउने यस्ता भनाइहरुको कडा रुपमा विरोध गर्दछ उहाँले भन्नुभएको छ । प्रवक्ता हुवाले ताइवान, हङकङ र चीनको सिनजियाङ प्रान्त चीनको विशुद्ध आफ्नो आन्तरिक मामिला भएकोले बाहिरबाट कसैको कुनै टिप्पणी आवश्यक नरहेको उहाँको भनाई थियो ।

यी क्षेत्रहरुका बारेमा बाहिरबाट कसैले व्यक्त गर्ने विचारहरुमा चीनको कडा आपत्ति रहने पनि उहाँको भनाई थियो । त्यस पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘म अमेरिकीहरुलाई आफ्नै विषयमा कुरा गर्न, आफ्नै समस्याहरुको व्यवस्थापन गर्न तथा चीनको चासो नलिन सुझाव दिन चाहन्छु ।’