जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार १४:१०

चिनियाँ र ब्राजिलियन राष्ट्रपति भेटवार्ता, थप आर्थिक साझेदारीको सहमति


बेइजिङ, कात्तिक ९

चिनियाँ राष्ट्रपति सि चिनफिङ र ब्राजिलका राष्ट्रपति जेयर मेसिया बोल्सोनारोबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ । हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका ब्राजिलका राष्ट्रपति बोल्सोनारो र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच शुक्रबार बेइजिङस्थित ‘ग्रेट हल अफ दि पिपुल’मा भेटवार्ता भएको समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले सो अवसरमा विश्वमा धेरै कुराहरु परिवर्तन हुदै गएको भए पनि चीन र ब्राजिलबीचको सम्बन्ध भने स्थिर र सुमधुर रुपमा अघि बढिरहेको धारणा राख्नुभएको हो । त्यस अवसरमा द्धिपक्षीय हित, आपसी सहयोग र समझ्दारीका साथै चीन र ब्राजिलबीचको आर्थिक लगानी र व्यापार प्रवर्धनका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले विकासका सम्भावना र अवसरहरुको सामुहिक रुपमा खोजी गरी आपसी हितका लागि लगानी, आपसी सम्बन्धको प्राथमिकता एवम् चीन ब्राजिल बृहत राणनीतिक साझेदारिताको विकासका क्षेत्रमा जोड दिनुभएको थियो । उहाँले लगानीका साझा र नयाँ क्षेत्रहरुको खोजी गर्नुपर्ने, साझा चासो र फाइदाका क्षेत्रमा लगानी गर्नुपर्ने तथा द्धिपक्षीय व्यापार अभिबृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले उर्जा, कृषि, खानी उपजका साथै पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि चीन तयार रहेको भन्दै हालको तुलनामा अझै धेरै ब्राजिलियन सामानहरु आयात गर्न चीन तयार रहेको धारणा पनि राख्नुभएको थियो । त्यस अवसरमा दुवै देशका राष्ट्रपतिले दुई देशको सम्बन्ध इतिहासदेखि नै असल र सुदृढ रही आएको धारणा राख्नुभएको थियो ।

ब्राजिलियन राष्ट्रपति बोल्सोनारो चिनियाँ राष्ट्रपति सिको आमन्त्रणमा औपचारिक भ्रमणका लागि चीन पुग्नुभएको हो । बिहीबार बेइजिङ पुग्नुभएका राष्ट्रपति बोल्सोनारो शनिबारसम्म चीनमा रहनुहुने छ । उहाँहरुबीच शुक्रबार भएको भेटवार्तापछि दुवै देशको तर्फबाट संयुक्त प्रेस वक्तव्य पनि जारी गरिएको थियो ।