जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार १४:३२

कुलमान घिसिङको कमाल : नौ अर्ब घाटाको नेपाल बिद्युत प्राधिकरण सात अर्व नाफामा पुग्यो


बनेपा, कात्तिक ९ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताउनुभएको छ । धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उहाँले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गर्नुभयो ।

आगामी वर्ष दश अर्ब नाफामा पुर्याउने र यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत् सेवा पुगेको जिल्ला घोषणा गर्ने तयारीमा रहेको उहाँको भनाइ छ । “हामीले विद्युत्भार कटौती मात्रै अन्त्य गरेनौँ ।” उहाँले भन्नुभयो, “अब विद्युत् अपुगभन्दा पनि पर्र्याप्त भएकाले सक्नेजति खपत गर्न आम उपभोक्तालाई आग्रह गर्न चाहन्छु ।”

सरकार, ऊर्जा मन्त्रालय र सबैको प्रयासले लोडसेडिङ अन्त्य गर्न सकेको उल्लेख गर्दै उहाँले अब भएको विद्युत्लाई उपभोग गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो । तीन वर्षमा १२ लाख ग्राहक बनाउन सफल भएको उहाँले बताउनुभयो । उहाँले अब विद्युत् नै नपुगेको ठाउँमा विद्युत् पुर्याउने अभियानमा लागेको विद्युत् प्राधिकरण अझै पनि ४० प्रतिशत विद्युत् सेवा पुर्याउन बाँकी रहेको काभ्रेपलाञ्चोक जिल्लालाई आगामी दुई वर्षमा सत्प्रतिशत विद्युत् सेवा पुर्याउने बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बस्ती विस्तार गर्नुभन्दा पहिला नै सरकारले सबै प्रकारको विकासको व्यवस्थापन नभएका कारण पछि गर्ने काममा निकै समस्या निम्तने गरेको बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठ र धुलिखेल उद्योग वाणिज्य सङ्घका सल्लाहकार दिलसुन्दर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।