जनता टाइम्स

७ फाल्गुन २०८१, बुधबार २०:२७

आजको सबैभन्दा ठुलो समस्या राजनीतिमा अवसरवाद र सामाजिक अराजकतावाद : शंकर पोखरेल


कपिलवस्तु, फागुन ७। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति क्रान्ति र पूर्ण क्रान्तिमा फरक भएको बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुद्वारा शनिबार आयोजित वडा केन्द्रित अभियान शुभारम्भ तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेले नेपालमा राजनीतिक क्रान्ति सफल भएको भए पनि पूर्ण क्रान्ति हुन बाँकी रहेको बताउनुभयो ।

‘राजनीतिक रूपमा हामीले ठुलो परिवर्तन गर्‍यौँ, सामन्तवादी राज्यव्यवस्था माथि विजय प्राप्त गरियो तर दलाल नोकरसाही पुँजीवाद बाँकी नै छ’, उहाँले भन्नुभयो ।

नेपालको राजनीतिक क्रान्तिले सामन्तवादी नेतृत्व अन्त्य भएको भए पनि अब कसको नेतृत्व स्थापित गर्ने भन्ने कुरा स्पष्ट हुनै नसकेको पोखरेलले बताउनुभयो । ‘नेपालको राजनीतिले कुनै खास वर्गलाई राज्य सत्ताको नेताका रूपमा स्थापित गरेकै छैन’, उहाँले भन्नुभयो ।

पोखरेलले आजको सबैभन्दा ठुलो समस्या राजनीतिमा अवसरवाद र सामाजिक अराजकतावाद भएको बताउनुभयो । यी समस्याको पहिचान भएको भए पनि त्यसको समाधानको दिशा तर्फ देश अघि बढ्न नसकेको पोखरेलको धारणा छ ।

‘राजनीतिक क्रान्तिलाई पूर्ण क्रान्तिमा बदल्ने तर्फ अब पार्टी पङ्तिलाई क्रियाशील बनाउनु पर्छ, अबको ध्यान त्यता केन्द्रित हुनुपर्छ’, पोखरेलले भन्नुभयो ।
पुरानो समाज व्यवस्थाका अवशेषलाई समूल रूपमा अन्त्य नगरेसम्म नयाँ समाजमा अघि बढ्न नसकिने उहाँले बताउनुभयो ।

नेपाली समाजमा अहिले पनि सामन्ति शासन व्यवस्थाको अवशेष बाँकी रहेकोले त्यसलाई अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कम्युनिष्ट पार्टीको स्थापना नै समाज बदल्नको लागि भएकोले समाज परिवर्तनको लागि प्रभावकारी भूमिका खेल्नु पर्ने बताउनुभयो  । ‘परिवर्तनको लागि हामीले जति धेरे पहल गर्छौँ, त्यति नै छिटो समृद्ध समाज बन्दछ’, उहाँले भन्नुभयो ।

अधिकारमुखी राजनीतिबाट नेपाली बढी प्रभावित भएको बताउँदै पोखरेलले योगदान बिना अधिकार मात्र खोजेर समाज नबदलिने बताउनुभयो । अधुरो क्रान्तिलाई पूर्ण क्रान्तिमा बदल्न आवधिक निर्वाचन मार्फत प्रगतिशील शक्तिले देशको नेतृत्व लिनुपर्ने उहाँले धारणा राख्नु भयो ।

राजनीतिक ध्रुवीकरण आजको आवश्यकता भएको बताउँदै पोखरेलले यसले बलियो राष्ट्रिय शक्ति बनाउने उहाँले बताउनुभयो । बलियो राष्ट्रिय शक्तिले मात्र राष्ट्र निर्माणको काम गर्न सक्ने उहाँको धारणा छ ।

पोखरेलले ३२ सिट भएको पार्टीले आफूलाई पाँचै वर्ष शासन गर्ने म्याजिक नम्बर भएको बताउन लागेपछि कांग्रेस र एमालले हस्तक्षेप गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो । ‘लोकतन्त्र माथिको भद्दा मजाक सधैँका लागि अन्त्य गर्न दुईवटा ठुला पार्टी मिलेको हो’, उहाँले भन्नुभयो ।

पोखरेलले अबको नेपालको राजनीतिको विकल्प राजतन्त्र नहुने कुरा बुझ्न पनि आग्रह गर्नुभयो ।

विश्वले ठुला ठुला आर्थिक, सामाजिक परिवर्तन गरिरहेको बेलो २ सय वर्षभन्दा बढी शासन गरेको राजतन्त्रले के गर्‍यो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । त्यसैले राजतन्त्रको भूत जगाउने प्रयत्न नगर्न पनि उहाँले चेतावनी दिनुभयो ।

राज्यलाई बलियो बनाउन राजनीतिक दल बलिया हुनु पर्ने बताउनुभयो । राजनीतिक दल कमजोर भएर राज्य बलियो हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

ठुला पार्टीहरू बलिया हुँदा राजनीतिक स्थायित्व कायम हुने उहाँको धारणा छ । नेकपा एमालेलाई बहुमत सहितको राष्ट्रिय शक्ति बनाउन एमालले वडा केन्द्रित अभियान सुरु गरेको उहाँले स्पष्ट पार्नुभयो ।

भविष्य प्रतिको आसा नभई कुनै पनि मानिस कसैको पछि नलाग्ने पोखरेलले बताउनुभयो । नेकपा एमाले भविष्य बोकेको पार्टी भएको कारण एमालेका पछाडि लाग्न र एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने काममा लाग्न उहाँले आह्वान गर्नुभयो ।