जनता टाइम्स

८ फाल्गुन २०८१, बिहीबार १३:४४

वीरगन्ज नाका हुँदै घर फर्किए भारतको केआइआइटीबाट निकालिएका १५६ नेपाली विद्यार्थी


पर्सा, फागुन ८ । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयबाट चरम यातनासहित कुटपिट गरी अपमानपुर्वक निकालिएकामध्ये १५६ जना नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै घर फर्किएका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार बुधबार बिहान २ बजेदेखि बिहीबार बिहान १० बजेसम्म वीरगन्ज नाका हुँदै १५६ जना नेपाली विद्यार्थी घर फर्किएका हुन । भुवनेश्वरबाट रेल र सडकमार्ग हुँदै रक्सौल आइपुगेका उनीहरू वीरगन्ज नाका हुदैं नेपाल प्रवेश गरेको एसपी मिश्रले जानकारी दिनुभयो ।

वीरगन्जको इनर्वा नाका हुँदै १५३ जना र अलौं नाका हुँदै ३ जना गरेर हालसम्म १५६ जना नेपाली विद्यार्थी नेपाल आइपुगेको मिश्रले बताउनु भयो । तीमध्ये छात्रा २७ जना र १२९ जना छात्र रहेका छन । वीरगन्ज नाका हुँदै नेपाल आइपुगेका नेपाली विद्यार्थीहरू पर्सा, बारा र रौतहट जिल्लाका रहेको प्रहरीले जनाएको छ ।

वीरगन्ज नाका हुँदै आइपुगेका नेपाली बिद्यार्थीहरूलाई प्रहरी, वीरगन्ज महानगरपालिका र साउथजोन माविले गाडी व्यवस्थापन गरेर घर पठाएको छ । ‘टाढा घर भएकाहरूलाई प्रहरीसमेतको सहयोगमा गाडी व्यवस्थापन गरेर गन्तव्यसम्म पठाइएको छ । केहीका भने आफन्त नै आएर साथमा लिएर गएका छन,’ एसपी गौतमले भन्नुभयो ।

केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गत आइतबार शंकास्पद मृत्यु भएपछि घटनाको न्यायिक छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीहरूलाई कलेज प्रशासनले गुण्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै होस्टेल (छात्रावास) बाट मध्इराती निकालेपछि उनीहरू कलेजबाट भागेर कष्टपूर्ण यात्रा गर्दै नेपाल फर्किएका हुन ।

कलेजमा नेपाली विद्यार्थीहरूमाथि जुन ज्यादती भयो, त्यो सम्झिँदा त अब फर्केर जाने हिम्मत नै भइरहेको छैन । फेरि जाँदा कलेजले अहिलेकै रिस राखेर हामीलाई जेपनि गर्न सक्छ भन्ने डर छ ।

बुधबार वीरगन्जको इनर्वा नाका हुँदै घर आइपुगेका वीरगन्ज–१५ ब्रम्हचोकका छात्र पिन्टु यादवका अनुसार, केआइआइटी विश्वविद्यालयमा करिब १ हजार ५ सय नेपाली विद्यार्थी अध्ययनरत छन । केआइआइटी कलेजमा बिटेक सिभिल दोस्रो सेमेस्टरमा अध्ययनरत यादवले आफ्नै सहपाठीको शंकास्पद मृत्यु भएपछि घटनाको छानबिन हुनुपर्ने माग राखेर आन्दोलन गर्दा कलेज प्रशासनले आफूहरूमाथि गुण्डा लगाएर निर्घात कुटपिट गरेको बताउनु भयो ।

‘आन्दोलन गर्दा कुटपिट मात्र गरेन,राति होस्टेलमा कलेजले गुण्डाहरूलाई पठाएर सबै नेपाली विद्यार्थीहरूलाई तत्काल कलेज र होस्टेल छाडेर जान धम्की दिन लगायो । ज्यान नै असुरक्षित भएपछि हामी रातारात कलेज छाडेर निस्कनु पर्यो,’ यादवले भन्नुभयो । सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म आँफुहरू कलेज नफर्किने उहाँको भनाई छ ।

यादवले थप्नुभयो, ‘कलेजमा नेपाली विद्यार्थीहरूमाथि जुन ज्यादती भयो, त्यो सम्झिँदा त अब फर्केर जाने हिम्मत नै भइरहेको छैन । फेरि जाँदा कलेजले अहिलेकै रिस राखेर हामीलाई जेपनि गर्न सक्छ भन्ने डर छ ।’ कलेज प्रशासनको सो ज्याद्धतीप्रति बिश्वभर आक्रोश फैलिएको छ भने भारत सरकारले समेत कार्वाही गर्ने बताएको छ ।