जनता टाइम्स

१७ फाल्गुन २०८१, शनिबार २२:०७

सरकार ढल्ने हल्ला चलाउनेहरू आफै लज्जित हुने एमाले महासचिव शंकर पोखरेलको ठोकुवा


काठमाडौं, फागुन  १७। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल हरेक हिसाबले पर्यटनको लागि सम्भावनाको क्षेत्रको रूपमा रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय होटेल व्यवसायी संघको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले पर्यटन क्षेत्र विस्तारको लागि होटेल क्षेत्रको विकास हुनु पर्ने बताउनुभयो ।

नेपालमा जति पर्यटक ल्याउनु पर्ने हो त्यसको सानो हिस्सा पनि ल्याउन नसकिएको उहाँको भनाइ छ । ‘हामी १०÷१२ लाख पर्यटक ल्याउँदा खुसी मनाएर बसेका छौँ’, उहाँले भन्नुभयो ।

नेपालको समग्र अर्थतन्त्र नै औपचारिक भन्दा अनौपचारिक भएको पोखरेलले बताउनुभयो । यसको प्रभाव देशको समग्र विकासमा परेको उहाँको धारणा छ । नेपालमा अनौपचारिक अर्थतन्त्र बलियो भएको बताउँदै उहाँले त्यो देशको विकासका लागि घातक भएको पोखरेलले बताउनुभयो ।

अहिले नेपालको अर्थतन्त्रको आधार उत्पादन र उद्यम भन्दा पनि वैदेशिक रोजगारी भएको उहाँले बताउनुभयो । त्यो दिगो नभएर अस्थायी अर्थतन्त्र भएको उहाँको धारणा छ ।

मुलुकको अर्थतन्त्रमा देखिएको चुनौतीलाई चिरेर अहिलेको सरकार गम्भीरतापूर्वक अघि बढेको उहाँले बताउनुभयो । पहिलेको तुलमा अर्थतन्त्रमा केही सुधार भएका भए पनि अझै सन्तोषजनक अवस्था नभएको पोखरेलको भनाइ छ ।

अहिले पनि व्यावसायिक क्षेत्र जसरी उठ्नु पर्ने हो त्यस अनुरूप उठ्न नसकेको उहाँले बताउनुभयो । यो मुलुकको लागि प्रमुख चुनौती भएको पोखरेलको धारणा छ ।

कानुनका कारण सेवा प्रवाह, सुशासन र लगानीमा समस्या आयो भनेर नै सरकारले कानुन संशोधन गर्ने अध्यादेश ल्याएको पोखरेलले बताउनुभयो । ‘कानुनले झमेला खडा गर्‍यो, व्यवसायीलाई अप्ठेरो पर्‍यो भन्ने सन्दर्भमा कानुको तीव्र संशोधनको अभियानमा छौँ’, उहाँले भन्नुभयो ।

आवश्यकताको कारण सरकारले जिम्मेवार भएर अध्यादेश ल्याएको बताउँदै उहाँले अहिले अध्यादेशमा विरोधीहरूको आवाज चर्को भएको पोखरेलले बताउनुभयो । ‘सरकारले अत्यन्त गम्भीर छ, जिम्मेवार छ’, उहाँले भन्नुभयो ।

देशको सङ्कटका विषमा सत्तारुढ दल चिन्तित भएका बताउँदै उहाँले सङ्कट समाधानमा सरकार गम्भीर रहेको कुरा उहाँले बताउनुभयो । कतिपयले हरेक महिना दिनमा सरकार ढल्ने हल्ला चलाउने गरेका भए पनि त्यो उनीहरूको सपना मात्र भएको पोखरेलले स्पष्ट पार्नुभयो ।

‘सरका ढल्ने कुरा नेपालमा अस्थिरतामा रमाउन चाहनको दिवासपना मात्रै हो, मिसन २०८४ सम्म दुई दल बिचको सहकार्य अविछिन्न रहन्छ, धेरै हण्डर खाएर दुई दल एक ठाउँमा आएका हुन्’, उहाँले भन्नुभयो ।

कुनै पनि देश बलियो हुन राज्य बलियो हुनु पर्ने उहाँले बताउनुभयो । त्यसको लागि राजनीतिक दल बलिया हुनुपर्ने उहाँको धारणा छ । कमजोर राजनीतिक दलले शासन गरेर देश बलियो नबन्ने पोखरेलले स्पष्ट पार्नुभयो । ‘देश बनाउने हो भने अब बलिया राजनीतिक दल आवश्यक छ, अनेक तरिका पार्टीले देश बनाउन सक्दैनन्’, पाखरेलले भन्नुभयो ।

आउने निर्वाचनबाट राजनीतिक ध्रुवीकरणको माध्यमबाट देशलाई स्थायी सरकार दिनु पर्ने उहाँले बताउनुभयो । अहिलेको सत्ता समीकरण राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि भएको पनि पोखरेलले स्पष्ट पार्नुभयो ।

‘देश बनाउने हो भने अस्थिरता अन्त्य हुनु पर्छ, स्थायित्व कायम हुनुपर्दछ, त्यसकै लागि अहिलेको सरकार बनेको हो’, उहाँले भन्नुभयो ।