काठमाडौं, फागुन १८ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको गतिविधिको बारेमा चासो लिनुभएको छ ।
श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालका सम्पन्न जिल्ला अधिवेशनहरू, प्रदेश अधिवेशनका सिकाइ र उपलब्धिको विषयमा ओलीले छलफल गर्नुभएको छ ।
संगठनका अध्यक्ष गणेश बस्नेतसँग पार्टीको तर्फबाट संगठनका इञ्चार्ज तथा स्थायी समिति सदस्य राजेन्द्र गौतम तथा जनसंगठन संयन्त्रका प्रमुख पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायतको उपस्थितिमा ओलीले ब्रिफिङ लिनुभएको हो ।
दशौँ महाधिवेशनको तयारी, जिल्ला र प्रदेश अधिवेशन तथा एकता अभियानको विषयमा परिणाममूलक छलफल र निर्देशन प्राप्त भएको संगठनका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो । ‘महाधिवेशनको काम र भावी नेतृत्वबारे छलफल र निर्देशन प्राप्त भएको छ’, उहाँले भन्नुभयो ।
छलफलको क्रममा एक जिल्लामा मतदानबाट र बाँकी सबै जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी पार्टी अध्यक्षलाई गराएको बस्नेतले बताउनुभयो ।
यसलाई पार्टी अध्यक्ष ओलीले सकारात्मक रूपमा लिनुभएको र महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन हुनेमा पूर्णतः विश्वास व्यक्त गर्नुभएको बस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्