जनता टाइम्स

२१ फाल्गुन २०८१, बुधबार १२:२०

संसद सचिवालयको कार्वाहीमा परे दुई पत्रकार, यस्ता छन अभियोग


काठमाडौं, फागुन २१ । संसदीय मर्यादालाई अस्वीकार गरेको अभियोगमा संसद सचिवालयले दुई जना पत्रकारमाथि कार्वाही गरेको छ ।

संसद सचिवालयले पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीलाई कार्वाही स्वरुप एक महिनाका लागि प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्‌बाट बाहिरिने क्रममा प्रश्न सोध्दा अमर्यादित शब्द प्रयोग गरेको भन्दै संघीय संसद् सचिवालयले श्रेष्ठ र ओलीको संसद प्रवेश पास निलम्बन गरेको हो ।

पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन भएको हो । संसद् सचिवालयको मिडिया सेण्टर प्रवेश पास लिएका श्रेष्ठ र ओलीले फागुन ४ गतेको प्रतिनिधिसभा बैठकपछि बैठकबाट बाहिरिँदै गर्नुभएका प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासन उल्लघंन गरेको संघीय ससंसद सचिवालयको भनाई छ।

सचिवालयका अनुसार पत्रकार श्रेष्ठ र ओलीले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा ‘तानाशाह’ र ‘हिटलर’ जस्ता पत्रकार आचारसंहिता बिपरित र अमर्यादित शब्दहरू प्रयोग गर्नुभएको थियो । संसद सचिवालयका महासचिवको निर्णयअनुसार पत्रकारद्वय श्रेष्ठ र ओलीको प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको सचिवालयले जनाएको छ ।