काठमाडौं, फागुन २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विरोधको लागि मात्रै विरोध गर्ने संस्कृति त्याग्न बिपक्षी दलहरूलाई सुझाव दिनुभएको छ । मन्त्री गुरुङले यस्तो संस्कृतिको अन्त्य हुनुपर्ने निश्कर्ष पनि सुनाउनु भयो ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सञ्चारमन्त्री गुरुङले सरकारले प्रभावकारी सेवा प्रवाह, लगानीको वातावरण सिर्जना र सुशासनको लागि अध्यादेश ल्याएको तथ्य पनि राख्नुभयो । सरकारले फूलै–फूल सजाएर ल्याएको अध्यादेशमा प्रतिपक्षले आग्रह र पूर्वाग्रहका आधारमा काँडै काँडा मात्र देखेको पनि बताउनुभयो ।
‘सरकारले राम्रो काम गर्दा पनि बिरोध गर्ने कुरा उचित होइन । सरकारले प्रभावकारी सेवा प्रवाह, लगानीको वातावरण सिर्जना र सुशासनको लागि अध्यादेश ल्यायो । सरकारले फूलै–फूल सजाएर ल्याएको अध्यादेशमा पनि प्रतिपक्षले काँडै काँडा मात्र देख्यो,’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो । उहाँले हिजो आफू सत्तामा हुँदा ल्याएका अध्यादेश सही हुने र अहिले अध्यादेश गलत हुने कुरा गर्नु गलत भएको उहाँले बताउनु भयो ।
‘अघिल्लो पटकको अध्यादेशको यसै छलफलमा बोल्न आउने धेरै माननीयहरू सत्ता पक्षमा हुनुहुन्थ्यो, यही अध्यादेशको बारेमा कसरी वकालत गर्नु भएको थियो त्यो हेरेपछि प्रष्ट हुन्छ, त्यस कारण यो अध्यादेश फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भने जस्तो हो, उहाँहरूले काँडै काँडा मात्र देख्नु भएछ, हामीले फूलै फूल देख्या छौँ,’ एमाले उपमहासचिवसमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो ।
प्रतिपक्षीले विरोध गर्ने कुनै ठाउँ नपाएपछि अध्यादेशको विरोध गरेको उहाँले बताउनुभयो । ‘विरोध गर्ने विषय नै पाउनु भएन, कहाँ र कुन दफामा विरोध गर्ने भनेर, उहाँहरूको अभिव्यक्तिबाट मलाई त्यस्तै लाग्यो । विरोध गर्नुपर्छ भनेर गर्नुभयो त्यति हो,’ मन्त्री गुरुङले भन्नुभयो ।
अहिले सुशासन कायम गर्ने कुरा, सार्वजनिक सेवालाई प्रभावकारी बनाउने कुरा अति आवश्यक भएको उहाँले बताउनुभयो । त्यसको लागि अध्यादेश ल्याइएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्