जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार २०:११

सुरुङमा रहेका आईएसका प्रमुख बग्दादीले जब अमेरिकी सेनाका कुकुर देखे…


काठमाडौं, कात्तिक १०

अमेरिकामा आइतवारको विहानै हुँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सनसनी पूर्ण बयान दिए । उनले विश्वको सबैभन्दा शक्तिशाली आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का संस्थापक नेता अबु बक्र अल–बग्दादी मारिएको बताउनु भयो ।

यसको संकेत केही समय अगाडी नै आएपनि आधिकारीक धारणा भने ट्रम्पले पत्रकार सम्मेलनमा दिनुभएको हो । तत्कालिन अलकायदाका संस्थापक नेता ओसामा विन लादेनलाई पाकिस्तानमा मारेपछि अमेरिकाको यो सबैभन्दा दोस्रो ठुलो सफलता हो । ट्रम्पका अनुसार उनि उत्तरी सिरियामा एउटा सुरुङमा लुकेर बसेका थिए । त्यसको सुचना पाएपछि अमेरिकी सेनाको गोप्य टोली सो क्षेत्रमा रातको समयमा पुगेको थियो ।

ट्रम्पका अनुसार बग्दादीसहित उनका तीन बच्चा पनि मारिएका छन् । ‘उ कुनै कायरको जस्तै मारियो । अब विश्व अझै सुरक्षित भएको छ । गाँड–ब्लेस अमेरिका । अबु बकर अल बग्दादी मारिएको छ’, ट्रम्पले भन्नुभयो । अमेरिकी सेना आएको थापापाएपछि बग्दादी आफ्ना बच्चासहित सुरुङबाट भाग्न खोजेका थिए । तर, त्यो सफल हुन नसकेको ट्रम्पले बताउनु भयो । कतैबाट भाग्ने ठाउ नदेखिएपछि आफुसँगै रहेको आत्मघाती बम विस्फोट गराएर तीन बच्चासँगै आफुपनि मारिए ।

आइतबार बिहान नौ बजे गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भन्नुभयो , ‘म बग्दादी मारिएको घटनाको पुष्टि गर्छु, अमेरिकी कुकुरले बग्दादीलाई खुब लखेटे, उ लगातार रोइरहेको थियो, चित्कार गरिरहेको थियो । चिच्याइरहेको थियो ।’ घटनामा दुई जना महिलाको पनि मृत्यु भएको छ जो उनका श्रीमती हुनसक्ने अनुमान गरिएको छ ।

ट्रम्पले पत्रकार सम्मेलनमा बग्दादीसहित उनको टोलीलाई हरुवाको संज्ञा दिनुभएको छ । ‘बग्दादी एक बिरामी र खराब व्यक्ति थिए तर अब उनि छैनन् । उनि हिंस्रक थिए र हिंसामै मारिए’,ट्रम्पले भन्नुभयो । उहाले यो कारवाहीलाई सफलतापूर्वक सम्पन्न गर्न रुस, टर्की, सिरिया, इराक र सिरियाली कुर्दीसले गरेको सहयोगका लागि धन्यबाद समेत दिनुभयो ।

को हुन् बग्दादी ?

आइसिस प्रमुख बग्दादी संसारकै प्रमुख ‘वान्टेड’ व्यक्तिमा पर्छन् । सन् २०११ मा अमेरिकाले बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्नेगरी सूचना दिनेलाई दश करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो ।

सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइसिसले लामो समयसम्म आतकंवादी गतिविधि चलाउँदै आएको थियो । आइसिसले ६ महिनाअघि श्रीलंकाका विभिन्न ठाउँमा आक्रमण गरेको थियो जसमा २५९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ४५ जना विदेशी थिए ।

ओसामा बिन लादेनले नेतृत्व गरेको आतंकवादी समूह अलकाइदा कमजोर हुँदै गएपछि आइसिसको प्रभाव बढ्दै गएको थियो । अलकाइदाका प्रमुख लादेनलाई पाकिस्तानमा उनी लुकिबसेको एउटा घरमा आक्रमण गरेर अमेरिकाले मारिसकेको छ । त्यस्तै अमेरिकी सेनाले नेतृत्व गरेको संयुक्त फौजले अफगानिस्तानमा १० वर्ष लामो युद्धमा अलकाइदामाथि ठूलो क्षति पुर्याएको छ ।

सन् १९७१ मा उत्तरी इराकमा जन्मिएका बग्दादीलाई आतंकवादी हमला र लडाइँमा चतुर रणनीतिकार मानिन्थ्यो । उनी सुरूमा सन् २०१० मा इराकमा अलकाइदाको नेताका रूपमा उदाएका थिए । पछि अन्य आतकंवादी समूहहरू मिलाएर उनले आइसिसको नेतृत्व सम्हालेका थिए ।