जनता टाइम्स

११ कार्तिक २०७६, सोमबार ०७:३३

दिपावलीमा झिलिमिलि बनाउन भार प्रेषण केन्द्रमा आफै खटिए कुलमान घिसिङ


काठमाडौं, कात्तिक ११ ।  लक्ष्मीपूजाको दिन वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग हुने दिन हो । लक्ष्मीपूजाको दिनदेखि नागरिकले झिलिमिली बनाउने भएकाले आइतबार वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यो वर्षको लक्ष्मीपूजाको दिन आइतबार बढिमा १३ सय मेगावाटसम्म विद्युतको माग हुन सक्ने प्राधिकरणको अनुमान थियो । ३ वर्ष अघिसम्म तिहारमा पनि लोडसेडिङ हुने गरेकोमा प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व सम्हालेपछि २०७३ सालको तिहारदेखि लोडसेडिङ हुन छाडेको छ । विगतमा भारतबाट आयात गरेर र चु्स्त व्यवस्थापन गरेर तिहारलाई झिलीमिली बनाएको प्राधिकरण यो वर्ष देशमै १ हजार मेगावाट विद्युत भैरहेकाले थप सहज अवस्थामा छ ।

तिहारमा कतै पनि अँध्यारो नहोस् भनेर प्राविधिक समस्याका समाधानको लागि कार्यकारी निर्देशक कुलमान घिसिङसहिको टोली तयारी अवस्थामा छ । १ हजार मेगावाट जति देशमै उत्पादन भएकाले बेलुकीको १र३ घन्टा भारतबाट ३ सय मेगावाटसम्म बिजुली आयात हुने सम्भावना छ ।

लक्ष्मीपूजाको दिन कार्यकारी निर्देशक घिसिङ आफैँ स्यूचाटारमा रहेको भार प्रेषण केन्द्रमा बसेर देशैभरको बिजुलीको माग र आपूर्ति अवलोकन गर्नुभएको छ । यस्तै उहाँले बढी माग हुने वितरण केन्द्रको पनि अवलोकन गर्नुभएको छ ।