जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १७:३६

यो कुकुर जसले बग्दादी पत्ता लगायो


काठमाडौं, कात्तिक १२

नेपालमा कुकुरलाई वर्षको एक दिन विशेष रुपमा पूजा गरिन्छ । तिहारका बेलामा केही दिन अघिमात्र कुकुरको पुजा गरेर नेपालीले कुकुर तिहार मनाइयो । तर, अहिले विश्वमा नेपालीले पुज्ने यही कुकुरको प्रशंसा भईरहेको छ ।

त्यसका कारण हो, विश्वका पछिल्लो समय निक्कै खतरनाक बन्न पुगेको आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का संस्थापक नेता अबु बक्र अल–बग्दादीलाई समाप्त सफल भयो । जसका कारण यो कुकुरको चर्चा अहिले विश्वभर रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै बग्दादी लुकेको ठाउँ पत्ता लगाउन र उनलाई गुफाभित्र खेद्न महत्वपूर्ण भूमिका खेलेको सैन्य कुकुरको तस्बिर सार्वजनिक गरिदिनु भएको छ ।

बग्दादीविरुद्धको सैन्य कारबाहीमा कुकुरहरूले पनि भूमिका खेलेकोबारे पहिलो सूचना राष्ट्रपति ट्रम्पले नै सार्वजनिक गर्नुभएको थियो । यसअघि अमेरिकी जनरल मार्क ए मिलेले उक्त कुकुरबारे सूचना दिए पनि नाम खुलाएका थिएनन् । ‘हामी कुकुरको नाम अहिले नै सार्वजनिक गर्दैनौं,’ जनरल मिलेले बग्दादीविरुद्धको कारबाहीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यो कुकुर अहिले पनि मैदानमै छ, आफ्नो ड्युटी पूरा गर्दैछ । त्यसैले हामी कुकुरको नाम, तस्बिर वा अरू कुनै सूचना दिन सक्दैनौं ।’

त्यसै दिन दिउँसो राष्ट्रपति ट्रम्पले जनरल मिलेसँग थप सूचना लिएर उक्त कुकुरको तस्बिर आफ्नो आधिकारिक ट्वीटरबाट सार्वजनिक गरे । ‘न्यूजविक’ पत्रिकाका अनुसार कुकुरको नाम कोनान हो । सुरक्षा भेस्ट लगाएर खिचिएको उक्त तस्बिर भर्खरैको हो कि पुरानो हो भन्ने खुलेको छैन ।

‘आइसिस प्रमुख अबु बकर अल–बग्दादीलाई समात्न र मार्न उल्लेखनीय भूमिका खेलेका विशिष्ट कुकुरको तस्बिर हामीले सार्वजनिक गरेका छौं, नाम भने अहिलेलाई गोप्य राखिएको छ,’ ट्रम्पले ट्वीटमा लेखेका छन् । उनले उक्त कुकुरलाई भेट्ने इच्छासमेत देखाएको वरिष्ठ अधिकारीहरूले बताएका छन् ।

कुकुरको नाम किन गोप्य राख्नुपर्यो भन्ने जिज्ञासामा एक पूर्व जनरल मार्क हटर्लिङले भने, ‘नाम भन्दा कुकुर स्याहार्ने व्यक्तिको परिचय खुल्छ । त्यो परिचय खुल्नेबित्तिकै बग्दादीविरुद्ध कारबाही गर्ने सैन्य युनिट पनि सार्वजनिक हुन्छ ।’
ट्रम्पले बताएअनुसार बग्दादीलाई अमेरिकी सैन्य कुकुरहरूले सुरूङभित्र लखेट्दै गएपछि उनले बमजडित भेस्ट पड्काएका थिए । यही क्रममा उनको मृत्यु भएको थियो ।

यो कारबाहीमा प्रयोग भएको कुकुरलाई कुनै चोटपटक लागेकोबारे जानकारी प्राप्त भएको छैन । ह्वाइट हाउस र अमेरिकी रक्षा विभागले कुकुर कुन जातको थियो भन्ने खुलाएका छैनन् । विज्ञहरू भने ‘बेल्जियन म्यालिनोयस’ जातका कुकुर प्रयोग भएको अनुमान गर्छन् । यसअघि सन् २०११ मा अलकायदा प्रमुख ओसामा बिन लादेनविरुद्धको कारबाहीमा पनि यही जातका कुकुर प्रयोग गरिएका थिए ।

‘यी जातका कुकुर निकै साहसी हुन्छन्, काममा कहिल्यै अल्छी गर्दैनन्,’ अमेरिकन बेल्जियन म्यालिनोयस क्लबका अध्यक्ष जुडी हेगनले एक अन्तर्वार्तामा भनेका छन्, ‘यिनीहरू एकदमै बुद्धिमान र सिपालु हुन्छन् । कुनै पनि प्रशिक्षण दिन समय लाग्दैन ।’

बेल्जियन कुकुरको सानो बच्चाको मूल्य पनि १ हजार ५ सय अमेरिकी डलरबाट सुरू हुन्छ । तालिमप्राप्त कुकुर त ३० हजार डलरसम्म पर्छ । बग्दादीविरुद्धको कारबाहीमा कुकुरको योगदानलाई ‘साहसी’ भन्दै प्रशंसा गरेका ट्रम्पले बग्दादीको मृत्युलाई पनि कुकुरसँग जोड्दै नमिल्दो टिप्पणी गरेका थिए। ‘बग्दादी कुकुरझैं मरे,’ उनको भनाइ थियो ।