काठमाडौं, चैत २२ । नेकपा एमालेले अघि सारेको समृद्ध नेपाल : सुखी नेपाली निर्माणका राष्ट्रिय आकांक्षा कार्यान्वयनमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी (ओएनएफ) र नेपाल बुद्धिजीवी परिषदले साथ दिएका छन ।
एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको नीति अनुसन्धान परिषदसँग बिशेष संझौता गरी ओएनएफ र बुद्धिजीवि परिषदले समृद्ध नेपाल निर्माण अभियानमा दह्रो साथ दिएका हुन । सोहीअनुसार नेकपार्टी एमालेले अघि सारेको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई मूर्तरूप दिन तीन संस्थाबीच महत्वपूर्ण समझदारी भएको छ।
नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको संयोजनमा नेपाल बुद्धिजीवी परिषद् र प्रवासी नेपाली मञ्चले बौद्धिक तथा सांगठानिक क्षमता, अनुभव र स्रोतको समुचित परिचालन गर्दै संयुक्त रुपमा अघि बढ्ने सहमति गरेका हुन।
नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य बिश्वास खतिवडाका अनुसार तीन संस्थाबीचको यो सहकार्यले समाजवादको निर्माणमा नीतिगत स्पष्टता, कार्यान्वयनको दिशा र संगठनात्मक बल प्रदान गर्ने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’ नीतिगत खाका तयार गर्न विभिन्न अन्तरक्रिया, छलफल, कार्यशाला र विचारमूलक सामग्री प्रकाशनको कार्य अगाडि बढाइनेछ। यसका लागि उच्चस्तरीय निर्देशन समिति र दैनिक कार्य सम्पादनका लागि कार्यदल गठन गरिएको छ।
नीति निर्माण प्रक्रियामा विज्ञहरूको क्लस्टर परिचालन गरिनेछ, जसले नीति लेखन, सम्पादन तथा अन्तिम रुप दिन सहयोग गर्नेछ। यससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम सञ्चालन गर्दै प्रवासी नेपाली विज्ञहरूको अनुभव र सल्लाह समेटिने छ।
नीतिलाई सशक्त बनाउन स्रोत संकलन र परिचालन गरिने छ भने अन्तिम रुप दिइएको नीतिलाई एमालेले अंगिकार गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसार गरिनेछ। प्रचारको प्रभावकारिता बढाउन वृत्तचित्र तथा श्रव्यदृश्य सामग्री तयार गरिनेछ, जसले नेता, कार्यकर्ता र आम जनताले सजिलै बुझ्न, आत्मसात् गर्न र कार्यान्वयन गर्न सहज हुनेछ।
कार्यक्रम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। समझदारीपत्रमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको तर्फबाट प्रदीप ज्ञवाली, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, नेपाल बुद्धिजीवी परिषद्को तर्फबाट डा. दिनेश चन्द्र देवकोटाले हस्ताक्षर गर्नुभएको छ ।
यस्तै एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलको संयोजकत्वमा गठित निर्देशन समितिमा प्रदीप ज्ञवाली, डा. दिनेश चन्द्र देवकोटा र संजय थापा सदस्य रहनुभएको छ । त्यस्तै, कार्यदलमा डा. दिनेश चन्द्र देवकोटा, आशिष रेग्मी, डा. विमला भण्डारी र बिश्वास खतिवडा रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्