जनता टाइम्स

२४ चैत्र २०८१, आईतवार १०:२९

शंकर पोखरेलको निष्कर्ष : पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बिपी पनि गणतन्त्रको पक्षमा जानुहुन्थ्यो


काठमाडौं, चैत २४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान नसक्ने कुरा बुझ्न कांग्रेसका नेताहरूलाई आग्रह गर्नुभएको छ ।

यदि पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बिपी पनि गणतन्त्रको पक्षमा जानु हुने पोखरेलको धारणा छ । बिपीको समयमा बिपी भन्दा पनि राजसंस्थाको हिमायती रहनुभएका गिरिजाप्रसाद कोइराला ज्ञानेन्द्रकै कारण गणतन्त्रको पक्षमा आउनु भएको उहाँले स्मरण गराउनुभएको छ ।

‘नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्दछ भन्नेहरूले बुझ्नु पर्दछ पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बिपी पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो, किनकि बिपीको समयमा बिपी भन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको छ ।

नेपालगञ्जमा राजावादीले बिपीको सालिकमा मोसो दलेर तोडफोड प्रयास गरेकोमा उहाँले निन्दा गर्नुभएको छ ।

‘राजतन्त्र होइन, राजसंस्था पुनर्स्थापना आन्दोलनमा हो राप्रपा भन्नेहरूले नेपालगञ्जमा बिपीको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन्, अब आफैँ बुझ्नुहोस् राजावादीहरू के चाहन्छन् ? आन्दोलनका संयोजक धवलशमशेरको गृहनगरीबाट दिएको सन्देश हो कांग्रेस भित्रका संवैधानिक राजसंस्थाका हिमायतीहरूलाई’, उहाँले लेख्नु भएको छ ।