जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार १४:२९

बलात्कार अभियोगमा समातिए कांग्रेस नेता


काठमाडौं, कात्तिक १३ । नेपाली कांग्रेस नुवाकोटका नेता ज्ञानेन्द्र गजुरेल बलात्कारको आरोपमा पक्राउ परेका छन । साथीको डेरामा एक युवतीलाई लगेर बलात्कार गरेको आरोपमा गजुरेललाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गजुरेलसहित नेकपाका एक कार्यकर्ता पनि बलात्कार मुद्दामा पक्राउ परेका हुन । गजुरेलसहित बलात्कारका लागि कोठा उपलब्ध गराउने नेकपाका कार्यकर्ता सन्देश शर्मा पोखरेललाई पनि पक्राउ गरिएको हो । उनीहरुलाई गत कात्तिक ३ गते नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गजुरेलले १९ बर्षीया एक युवतीलाई कात्तिक लागेसँगै कुमारीपाटीस्थित पाखरेलको कोठामा लगेका थिए । त्यही दुवै जनाले बलात्कार गरेको पीडितले उजुरी दिएपछि पक्राउ गरिएको हो । प्रहरीका अनुसार फेसबुकमार्फत चिनजान भएकी ती युवतीलाई गजुरेलले शर्माको कोठामा लगेर बलात्कार गरेका हुन । नेबिसंघका पूर्वकेन्द्रीय सदस्य गजुरेल नुवाकोट कांग्रेसका जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य हुन ।