काठमाडौं, कात्तिक १४
जापानमा रहेको विश्व सम्पदा सूचीमा रहेको शुरी दरबार आगलागीबाट ध्वस्त भएको छ । दक्षिणी टापू ओकिनावामा रहेको शुरी दरबारमा बिहीबार बिहान आगलागीबाट ध्वस्त भएको हो ।
आगलागीबाट दरबारको मुख्य हललगायत अन्य संरचनाहरु पूर्णरुपमा जलेका छन् । जापानको स्थानीय टेलिभिजनमा देखाइएको दृश्यमा थुप्रै तल्ला रहेको परम्परागत दरबार हेर्दा हेर्दै आगोको लप्का र धूवाँबीच अस्थीपञ्जर मात्र बाँकी रहेको छ ।
बिहीबार बिहान २ बजेर ४७ मिनेटमा आकस्मिक अग्निनियन्त्रकहरुलाई आगलागीको खबर आएको र त्यसलगत्तै अग्निनियन्त्रकको टोली तत्काल घटनास्थलान पुगेर आगो निभाउने काम थालेको जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके ले जनाएको छ ।
झण्डै पाँच सय वर्षअघि र्यूक्यू राजवंशका लागि राजदरबारका रुपमा निर्माण गरिएको शुरी दरबार पटक पटक आगलागीमा पर्दै र पुनर्निमाण हुँदै आएको थियो । यस अघि सबैभन्दा पछिल्लो पटक सन १९४५ मा भएको ओकिनावा युद्धका बेला यो ध्वस्त भएको र अहिलेको स्वरुपमा पुनर्निमाण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्