जनता टाइम्स

१४ कार्तिक २०७६, बिहीबार १२:१३

अस्पतालको बेडबाट प्रधानमन्त्रीको सन्देश : नियमित परीक्षण हो, चाँडै काममा फर्कन्छु


काठमाडौं, कात्तिक १४

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु चाडै काममा फर्किने बताउनु भएको छ । उहाको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न टिकाटिप्पणी भईरहेका बेला प्रधानमन्त्रीले अस्पतालबाटै सबैलाई आफु काममा चाडै फर्कने बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आफुले आज विहान भेट्दापनि उहा ठट्यौली पारामै रहनु भएको बताउनु भयो । ‘मैले बिहान प्रधानमन्त्रीज्यूलाई भेटेँ,’ अर्यालले जनताटाइम्ससँग भन्नुभयो, ‘राम्रोसँग कुराकानी गर्नुभयो। ठट्यौली मोडमै हुनुहुन्थ्यो। सी यू एट बालुवाटार भन्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था बुझ्न आएका मन्त्रीहरुलाई पनि सिंहदरवारमा भेट्ने बताउनु भएको छ । प्रधानमन्त्रीलाई भेट्न पुगेका मन्त्रीहरूलाई पनि प्रधानमन्त्रीले ‘सी यू एट सिंहदरबार’ भनेको अर्यालले जानकारी दिनुभयो । भेटमा राम्रोसँग कुरा गर्नुभयो बताउदै डा. अर्यालले उहाँले चाडै काममा फर्कने आत्मविश्वास देखाउनुभएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीलाई बुधबार अस्पताल भर्ना गरिएपछि उपप्रधान तथा तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेताहरु अस्पताल पुग्नु भएको थियो । डिस्चार्ज हुनु अघि पनि फेरि डायलासिस गर्ने चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्रीलाई अहिले ‘लो ग्रेड’ ज्वरो पनि आइरहेको छ । तर ज्वरोको कारण भने पत्ता लाग्न सकेको छैन । उहाको रगतको कल्चरका लागि हिजो नै पठाइएको छ । जसको रिपोर्ट आउन ७२ घण्टा लाग्छ ।

प्रेस सल्लाहकार डा. अर्यालका अनुसार मृर्गौलाको डायलासिसभन्दा पनि रगत प्युरिफाइ गरिएको बताउनु भयो । उहाले अहिले पनि प्युरिफाइ गर्ने काम भईरहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख थियो । ग्राण्डी अस्पतालमा डा. सिहबाहेक डा. चक्रराज पाण्डे, दीलिप शर्मा र डा. प्रेम ज्ञवालीको टिम उपचारमा संलग्न रहेका छन् ।