जनता टाइम्स

१४ कार्तिक २०७६, बिहीबार १५:५८

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने निर्णय, प्रमाणित भए ७ वर्ष जेल


काठमाडौं, कात्तिक १४ । सरकारी वकिल कार्यालयले निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ । आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोप लागेका महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने सरकारी वकिल कार्यालयले निर्णय गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले महरामाथि सो उद्योगमा मुद्दा दर्ता गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाका अनुसार आजै अदालतमा मुद्दा दर्ता हुनेछ । महरा सार्वजनिक पदाधिकारी भएकाले डेढी सजाय हुनुपर्ने माग गर्ने निर्णय पनि भएको छ ।

प्रहरीले महरामाथि अनुसन्धान गरी कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन शुक्रबार बुझाएको थियो । मुलुकी अपराध संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ । अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी युवती वा महिला भए सात वर्षदेखि दस वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

जबरजस्ती करणी उद्योग गरेको भए त्यसको आधा सजाय हुने व्यवस्था मुलुकी अपराध संहितामा छ । महरालाई त्यसको आधा सजाय अर्थात् साढे तीनदेखि ५ वर्षसम्म सजाय मागदाबी गर्न सकिन्छ । महरा सार्वजनिक पदाधिकारी भएकाले डेढी सजाय थप हुन्छ । करणी उद्योगमा साढे तीनदेखि साढे पाँच वर्षसम्म कैद हुन्छ । डेढी भएकाले साढे सात वर्षसम्म कैद हुन सक्छ ।