जनता टाइम्स

१४ कार्तिक २०७६, बिहीबार १६:११

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी, प्रचण्डसँग भन्नुभयो-छिटो छिटो समस्या देखिएपनि अहिले ठिक छु


काठमाडौं, कात्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ । आज विहान दोस्रो पटक डाइलाइसिस गरेपछि उहाको स्वास्थ्यमा सुधार देखिएकाले डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नु भएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उहालाई आजै डिस्चार्ज गर्ने तयारी भईरहेको जानकारी दिनुभयो । दिउँसो २ बजेपछि धापासी पुगेका अध्यक्ष दाहालले अस्पतालका निर्देशक चक्रराज पाण्डेसँग पनि भेट गर्नुभएको थियो ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री आजै अस्पतालबाट डिस्चार्ज हुने जानकारी दिनुभयो । ‘दुई पटक डाइलाइसिस भइसकेको छ । चिकित्सकहरुले आजै डिस्चार्ज दिने भनेका छन्’, दाहालले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेँ। उहाँले छिटो छिटो समस्या देखिए पनि अहिले ठीक भएको बताउनुभयो।’

अध्यक्ष दाहालका अनुसार डायलाइसिस सकिएकाले चिकित्सकहरुले केही समय आराम गराएर प्रधानमन्त्रीलाई डिस्चार्ज दिने तयारी गरेका छन् । दुई पटक डाइलाइसिस भइसकेकाले भोलि पर्सीको अवस्था हेरे थप निर्णय लिने जानकारी पाण्डेले दिएको दाहालले बताउनुभयो ।