जनता टाइम्स

१४ कार्तिक २०७६, बिहीबार १६:५५

प्रहरीलाई महराको पुर्णत असहयोग : डिएनए परीक्षणका लागि दिएनन रगत, पोलिग्राफ जाँच पनि अस्वीकार


काठमाडौं, कात्तिक १४ । आफ्नै सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा पुर्णत असहयोग गरेका छन । महराले अदालतको आदेशसमेत अबज्ञा गरी डिएनए परीक्षणका लागि रगत दिनसमेत अस्वीकार गरेका हुन । महराले रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन ।

संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको बिषयमा अनुसन्धान गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको थियो । महराले रगत दिन अस्वीकार गरेपछि अदालतले डिएनए परीक्षणका लागि रगत दिन महराको नाममा आदेशसमेत दिएको थियो । तर महराले डिएनए परीक्षणमा शाहीसँगको सम्बन्धबारे पुष्टि हुने भएपछि नदिएका हुन । प्रारम्भमा रगत दिन इन्कार गरेपछि प्रहरीले अदालत गुहारेको थियो । जिल्ला अदालत, काठमाडौंले गत कात्तिक ७ गते रगत दिन महरालाई आदेश दिएको थियो ।

न्यायाधीश सुदर्शनराज पाण्डेको आदेशले ७ दिन म्याद थप गर्दै रगत दिन आदेश दिएको थियो । डीएनए परीक्षणविना आरोपबारे अनुसन्धान गर्न नसकिने अनुसन्धान अधिकृतको दाबीमा सहमत हुँदै अदालतले महरालाई सो आदेश दिए पनि अस्वीकार गरेका हुन । सोही कारण प्रहरीले मिसिलमै महराले रगत दिन नमानेको व्यहोरा उल्लेख गरेर मिसिल बुझाएको छ ।

पोलिग्राफ जाँच पनि अस्वीकार

महराको पोलिग्राफ परीक्षण गर्न पनि अस्वीकार गरेका छन । स्वास्थ्य अवस्था ठीक नभएको बताउँदै महराले परीक्षण गर्न नमानेका हुन । पोलिग्राफ परीक्षणका लागि सम्बन्धित अभियुक्तले अनुमति दिनुपर्ने बाध्यकारी व्यवस्था छ । यो विधिबाट व्यक्तिले झुट बोलेको छ कि छैन भन्ने पत्ता लगाउने गरिन्छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार महराले फरेन्सिक जाँचका लागि मागिएको मोबाइल समेत दिएनन ।