जनता टाइम्स

१० बैशाख २०८२, बुधबार १८:०७

घनश्यामले भेटे बिष्णु रिमालबाट जस्ताको तस्तै जवाफ


काठमाडौं, बैशाख १० । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको बकवासले सीमा नाघेपछि नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले कठोर जवाफ फर्काउनु भएको छ । उपमहासचिव रिमालले ‘महासचिव’ त हौ नि भन्दै भुसालमाथि कडा प्रहार पनि गर्नुभएको छ ।

उहाँले आफ्नो पार्टी सोचेजस्तो बनाउन पनि भुसाललाई चुनौती दिनुभएको छ । नेकपा एसका महासचिव भुसालले मंगलवार महासचिव भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध आपत्तिजनक टिप्पणी गर्दै देशको नेतृत्वमा हुनु दुर्भाग्य भएको बताउनु भएको थियो ।

रिमालले भुसालको सो भनाईको जवाफ फर्काउँदै भन्नुभएको छ, ‘तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौं । चल्तीका एक युवा गायकले के सन्देश दिन यो गीत बनाए, त्यो त उनैलाई थाहा होला । तर मलाईचाहिँ आजभोलि चम्कीचम्की, जुल्फी हल्लाई–हल्लाई एमालेसहितका प्रमुख दलका नेताहरूप्रति टिप्पणी गर्ने ’एस’ भनिने ’त्यस’ पार्टीका महासचिवको ‘फुरफुरी’ले गीत याद आयो ।’

रिमालले महासचिव भुसाललाई महोदय, साँच्चीकै महासचिव भएको हो नि ! भन्दै कटाक्ष पनि गर्नुभएको छ । भुसालको हर्कत उजागर गर्दै उपमहासचिव रिमालले थप लेख्नुभएको छ, ‘हो भने, आफ्नै पार्टीलाई चाहेजस्तै– खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखाइदिए हुन्न ? अब के को लागि यो ल्याङ, ल्याङ ?’

उहाँले दोष लगाउन, मुख छोड्न र अर्ति उपदेश दिन सजिलो भए पनि गर्न गाह्रो हुने जवाफ फर्काउनु भएको छ । भुसाललाई कटाक्ष गर्दै रिमालले लेख्नुभएको छ, ‘आफू चाहिँ खेती नगर्ने तर सँधियारको बाली हलक्क बढेको देख्दा छटपटी भई राती गोरु फुकाएर लगाइदिनेलाई तपाई सामन्ती प्रवृत्ति भन्नुहुन्छ हैन ?’ पछिल्लो समय नेकपा एसका महासचिव भुसालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताबिरुद्ध तथानाम गालीगलौज गर्न थालेपछि बाध्यभएर रिमालले जवाफ फर्काउनु भएको हो । उहाँले धेरै चुरीफुरी राम्रो नहुने प्रष्ट सन्देश पनि भुसाललाई दिनुभएको छ ।